Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु हुँदै

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु हुँदै

म्याग्दी :  म्याग्दीमा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालिएको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ ।सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको यस आयोजनाले परीक्षण अवधि पूरा गरी व्यावसायिक उत्पादन थालेको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकीको बाढीले कटान गरी क्षति पुर्‍याएपछि असोज ६ गतेदेखि सुरु भएको परीक्षण अवधि लम्बिएको थियो ।

प्राकृतिक विपत्ति, कोभिड–१९ महामारी, भन्सार प्रक्रियाको जटिलता, अन्तर्राष्ट्रिय युद्धको असर तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकलगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको केसीले बताए ।

आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण गरिएका छन् ।

यस्तै, तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग र राहुघाटमा एउटा बेलिब्रिज निर्माण गरिएको छ ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकछेउ तिल्केनीचौरमा विद्युतगृह र स्वीचयार्ड निर्माण गरिएको छ । उत्पादित विद्युत्लाई २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ माध्यमबाट जोड्न चारवटा टावर र प्रसारण लाइन तयार पारिएको छ ।

भारतको वाकफोस परामर्शदाता रहेको यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो ।

सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाउन प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभीआरसीएलसँग २०६७ कात्तिक १८ गते दुई अर्ब ५० करोड रुपैयाँमा सिभिल ठेक्का सम्झौता गरेको थियो ।

२०७० सालमै उत्पादन सुरु गर्ने लक्ष्य रहे पनि कमजोर आर्थिक अवस्थाका कारण पाँच वर्षमा भौतिक प्रगति १२ प्रतिशतमा सीमित भएपछि प्राधिकरणले २०७२ सालमा उक्त ठेक्का रद्द गरेको थियो ।

त्यसपछि आयोजनाको पुनर्संरचना गरी क्षमता ४० मेगावाट पुर्‍याउने निर्णयसहित प्राधिकरणले २०७३ सालमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरेको थियो ।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र प्राधिकरणको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा निर्माण प्रक्रिया अघि बढाइएको हो ।

नयाँ प्रक्रियाबाट छनोट भएको भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा काम सक्ने गरी २०७४ मङ्सिर ६ गते करिब छ अर्ब रुपैयाँमा सम्झौता भएको थियो ।

२०७६ असार ८ गतेदेखि सुरुङ खन्न थालिएकोमा २०८१ साउन १५ गते मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । चारपटक म्याद थपिएपछि आयोजनाले पूर्णता पाएको हो । यस्तै, इलेक्ट्रोमेकानिकलतर्फ भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जिल्लामा सरकारी लगानीमा सुरु भएको पहिलो राहुघाट आयोजनालाई यहाँको जलविद्युत् विकासको ‘प्रवेशबिन्दु’ मानिएको बताए ।

राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका अन्य १० वटा आयोजना यसअघि नै सम्पन्न भइसकेको उल्लेख गर्दै श्रेष्ठले ढिलै भए पनि राहुघाटले व्यावसायिक उत्पादन थालेकामा जिल्लावासी उत्साही भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट