काठमाडौँ- भारतसँग सहमति जुटेसँगै नेपालले नयाँ हवाई रुट कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक तयारी अघि बढाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार संयुक्त प्राविधिक टोलीले रुट सञ्चालनसम्बन्धी कार्य सुरु गरिसकेको छ ।
नयाँ हवाई मार्ग कुन भौगोलिक बिन्दुबाट नेपाल प्रवेश गर्ने, जहाजको उचाइ कति हुने र भारतबाट नेपालतर्फ जहाज स्थानान्तरण हुने प्रक्रिया कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्राविधिक छलफलबाट टुङ्गो लगाइनेछ ।
क्यानका एक उच्च अधिकारीका अनुसार नेपाली पक्षले आवश्यक गृहकार्य सुरु गरिसकेको छ भने भारतीय पक्षलाई संयुक्त बैठकका लागि प्रस्ताव पठाउने तयारी भइरहेको छ ।
ती अधिकारीले संयुक्त प्राविधिक टोलीले गृहकार्य सुरु गरिसकेको र प्रवेशमार्गको बिन्दु तथा जहाज स्थानान्तरणको उचाइबारे दुवै देशका टोलीले टुङ्गो लगाउने बताए ।
प्राविधिक छलफलबाट रुटको अन्तिम स्वरूप, उडान सञ्चालन प्रक्रिया, उचाइ निर्धारण तथा हवाई ट्राफिक व्यवस्थापनसम्बन्धी विषय टुङ्ग्याइनेछ । त्यसपछि दुवै देशको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा आवश्यक सूचना प्रकाशित गरिने जनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्ट अथोरिटी अफ इन्डियाले आ–आफ्नो एआइपीमा सूचना सार्वजनिक गरेपछि मात्र नयाँ हवाई मार्ग औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।
दुई देशबीच राजनीतिक तहमा सहमति भए पनि यात्रुवाहक तथा अन्य अन्तरराष्ट्रिय जहाजले नयाँ रुट प्रयोग गर्न प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा हुनुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij