Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

एमबीबीएस प्रवेश परीक्षामा अर्किड साइन्स कलेजको उत्कृष्ट सफलता, सात विद्यार्थी राष्ट्रिय वरीयतामा

एमबीबीएस प्रवेश परीक्षामा अर्किड साइन्स कलेजको उत्कृष्ट सफलता, सात विद्यार्थी राष्ट्रिय वरीयतामा

भरतपुर : चिकित्सा शिक्षा अध्ययन गर्ने सपना बोकेका विद्यार्थीका लागि प्रतिष्ठित मानिने चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा (MECEE-BL) २०८३ अन्तर्गत एमबीबीएस प्रवेश परीक्षामा भरतपुरस्थित अर्किड साइन्स कलेजले उत्कृष्ट नतिजा हासिल गरेको छ। कलेजमा अध्ययन गरेका सात विद्यार्थीले राष्ट्रिय वरीयतामा स्थान सुरक्षित गर्दै कलेजको शैक्षिक उपलब्धिलाई थप उचाइ दिएका छन्।

एमबीबीएस प्रवेश परीक्षामा अर्किड साइन्स कलेजका आयुष बीकेले ३१औँ राष्ट्रिय वरीयता हासिल गरेका छन्। त्यस्तै आर्यन अधिकारीले १३२औँ, नुरसैद आलमले १८८औँ, दिव्यप्रकाश झाले २४२औँ, उज्ज्वल सुनारले ४४५औँ, सम्बत बाबु दुवाडीले ४७९औँ र निश्चल अधिकारीले ५२०औँ राष्ट्रिय वरीयता हासिल गर्न सफल भएका छन्।

विशेषगरी आयुष बीकेले प्राप्त गरेको ३१औँ राष्ट्रिय वरीयता कलेजका लागि उल्लेखनीय उपलब्धि बनेको छ। एउटै शैक्षिक संस्थाबाट सात विद्यार्थीले एमबीबीएस प्रवेश परीक्षाको राष्ट्रिय वरीयतामा स्थान बनाउनुले कलेजको शैक्षिक वातावरण, शिक्षण अभ्यास र विद्यार्थीको तयारीलाई प्रतिबिम्बित गरेको अध्यक्ष आकाश पौडेलले बताए । 

विद्यार्थीहरूको निरन्तर मेहनत, लगनशीलता, अनुभवी शिक्षकहरूको मार्गदर्शन, नियमित अभ्यास तथा अनुशासित शैक्षिक वातावरण यो सफलताका प्रमुख आधार रहेको कलेजले जनाएको छ। विद्यार्थीको क्षमता र रुचिअनुसार अध्ययनलाई प्रभावकारी बनाउँदै प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक तयारीमा कलेजले विशेष जोड दिँदै आएको प्रचार्य डा खेम आचार्यले बताउछन् । 

चिकित्सा शिक्षा प्रवेश परीक्षामा सफलता हासिल गर्नु विद्यार्थीको व्यक्तिगत मेहनत र निरन्तर अध्ययनको परिणाम मात्र नभई शिक्षक, अभिभावक र शैक्षिक संस्थाको सामूहिक प्रयासको उपलब्धिसमेत हो। यस सफलताले विद्यार्थीमा उच्च शिक्षा हासिल गर्ने आत्मविश्वास बढाउनुका साथै चिकित्सा क्षेत्रमा भविष्य निर्माण गर्न चाहने अन्य विद्यार्थीलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको अर्किड साइन्स कलेजले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रतिस्पर्धात्मक क्षमता, व्यावहारिक ज्ञान, अनुशासन र भविष्यको करियर निर्माणमा समेत केन्द्रित गर्दै आएको छ। चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायत विभिन्न व्यावसायिक क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि बलियो शैक्षिक आधार तयार गर्ने कलेजको लक्ष्य छ।

यस वर्षको एमबीबीएस प्रवेश परीक्षामा प्राप्त सफलताले अर्किड साइन्स कलेजको शैक्षिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। गुणस्तरीय शिक्षा र प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई प्राथमिकता दिँदै आएको कलेजले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि र उत्कृष्ट नतिजाका लागि निरन्तर प्रयास गर्ने जनाएको छ।

भरतपुर–१०, चितवनमा रहेको अर्किड साइन्स कलेजले यस सफलताका लागि मेहनत गर्ने विद्यार्थी, मार्गदर्शन गर्ने शिक्षक तथा सहयोग गर्ने अभिभावकप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट