Logo

Nov 29 2026 | २०८३, मंसिर १४गते

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

रौतहट :  सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले स्थानीयसँग छलफल र परामर्श गरेको छ।

सशस्त्र प्रहरीले जिल्लाको बौधिमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र तिनको समाधानबारे छलफल गरेको हो।

त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरीपैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजानाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय तथा जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरिएको थियो।

सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।

त्यस अवसरमा बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयबीचको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने भएकाले यस विषयलाई सबै पक्षले मनन गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij