काठमाडौं : काठमाडौं आठ वर्षपछि बर्ड फ्लु संक्रमणको ‘हटस्पट’ बनेको छ । पशु सेवा विभागका अनुसार चैत ४ गते मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा बर्ड फ्लु देखापरेको थियो ।
हाल ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा संक्रमणको दर उच्च रहेको विभागले जनाएको छ । सुनसरीका १२ स्थानमा, मोरङका सात, झापामा दुई, चितवनमा एक तथा काठमाडौंलगायत देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु फैलिएको विभागले जनाएको छ । यो नेपालमा २०७५ साल यताकै उच्च संक्रमण दर हो । २०७५ साल चैत १५ गते बर्ड फ्लु संक्रमणकै कारण एक २४ वर्षीया युवकको मृत्यु भएको थियो । तर त्यसयता एच फाइभ एन वान (H5N1) भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन । आठ वर्षपछि पूर्वी नेपालबाट मध्य नेपालसम्म बर्ड फ्लु फैलिएको हो ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण देखिने क्रम अझै बढिरहेको छ । उनका अनुसार हाल काठमाडौं, भक्तपुर र ललितपुरमा जोखिम उच्च छ । बर्ड फ्लु संक्रमण फैलिन नदिन संक्रमित जिल्लामा पशुपन्छी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । हालसम्म संक्रमित क्षेत्रका पाँच लाख ६९ हजार ८५८ पन्छी मारिएको विभागले जनाएको छ ।
त्यस्तै, रोग फैलाउन सक्ने नौ लाख ८९ हजार ३१३ वटा अन्डा र एक लाख ९५ हजार ४८५ किलो दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र अन्य राष्ट्रिय प्रयोगशालामार्फत रोगको शीघ्र निदान गरिँदै आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने कार्यसमेत अघि बढाइएको महानिर्देशक दाहालले बताए । उनका अनुसार संक्रमण विशेषगरी जंगली चराहरूको सम्पर्कमा रहेका तथा जैविक सुरक्षाका उपाय कमजोर कार्यान्वयन गरिएका फार्महरूमा फैलिएको पाइएको छ ।
पशुपन्छीमा बर्ड फ्लु पुष्टि भएमा बाँकी रहेका पन्छी सरकारले नष्ट गर्ने र त्यसबापत परल मूल्यको ७५ प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था रहेको नेपाल पोल्ट्री महासंघले जनाएको छ । सरकारले बर्ड फ्लु देखिएपछि हाँस–कुखुरा नष्ट गर्ने र सोबापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ ।
के हो बर्ड फ्लु ?
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार बर्ड फ्लु अर्थात् ‘एभियन इन्फ्लुएन्जा’ एक भाइरल संक्रमण हो, जसले मुख्य रूपमा पन्छीहरूलाई असर गर्छ । ‘विशेषगरी जंगली चराचुरुङ्गी, हाँस र पानीमा बस्ने पन्छीहरूमा यो भाइरस पाइन्छ,’ उनले भने, ‘ती पन्छीबाट घरेलु कुखुरा, हाँस वा फार्मका अन्य पन्छीमा संक्रमण फैलिन्छ ।’
बर्ड फ्लुबाट सबैभन्दा बढी जोखिम कुखुरा फार्ममा काम गर्ने व्यक्तिहरूमा हुने गरेको उनले बताए । फार्ममा जैविक सुरक्षा प्रणाली कडाइका साथ लागू गरेमा संक्रमणबाट बच्न सकिने उनको भनाइ छ ।
खोरभित्र प्रवेश गर्दा अनिवार्य रूपमा मास्क, ग्लोभ्स, बुट र एप्रोन प्रयोग गर्नुपर्ने सुझाव उनले दिए । एउटा फार्ममा प्रयोग गरिएको सामान अर्को फार्ममा लैजान नहुने र खोर नियमित रूपमा निसंक्रमण गर्नुपर्ने उनले बताए । यदि फार्ममा अचानक धेरै कुखुरा बिरामी परे वा मर्न थाले भने तुरुन्त पशु सेवा कार्यालयलाई जानकारी दिन उनले आग्रह गरे ।
‘संक्रमित कुखुरा, हाँस वा अन्य पन्छीको दिसा, र्याल, प्वाँख वा शरीरबाट निस्किने तरल पदार्थमार्फत भाइरस फैलिन सक्छ,’ उनले भने, ‘विशेषगरी फार्ममा काम गर्ने, कुखुरा काट्ने, मरेका पन्छी व्यवस्थापन गर्ने वा संक्रमित खोर सफा गर्ने व्यक्तिमा जोखिम बढी हुन्छ ।’अचानक धेरै कुखुरा मर्नु, दाना कम खानु, घाँटी सुन्निनु र सास फेर्न गाह्रो हुनु यसका मुख्य लक्षण भएको उनले बताए ।
कुखुराको मासु र अण्डा खान मिल्छ ?
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्ड फ्लु लागेको कुखुरा खाँदैमा मानिसमा संक्रमण हुन्छ भन्ने भ्रम गलत भएको बताए । उनका अनुसार यो भाइरस कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा निष्क्रिय हुन्छ । त्यसैले मासु र अण्डा राम्रोसँग पकाएर खाएमा डराउनुपर्ने अवस्था नरहने उनले बताए, तर कुखुरा ताजा हुनुपर्ने उल्लेख गरे ।
मासु राम्रोसँग पकाउँदा भाइरस बाँच्न नसक्ने उनले स्पष्ट पारे । काँचो वा राम्रोसँग नपाकेको मासुमा जोखिम हुने भएकाले मासु छोएपछि साबुन पानीले राम्रोसँग हात धुन उनले सुझाव दिए । बर्ड फ्लु भाइरस शरीरमा प्रवेश गरेपछि श्वासप्रश्वास प्रणालीमा असर गर्ने उनले बताए । सुरुमा ज्वरो, खोकी, घाँटी दुख्ने, शरीर दुख्ने र आँखा रातो हुने लक्षण देखिन सक्ने उनले बताए ।संक्रमण गम्भीर भएमा निमोनिया, सास फेर्न गाह्रो हुने, फोक्सोमा गम्भीर संक्रमण, अक्सिजनको कमी, अंग फेल हुने र मृत्युसमेत हुन सक्ने उनले उल्लेख गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij