Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

उद्धारमा जुट्न उद्योग वाणिज्य महासङ्घको अपिल

उद्धारमा जुट्न उद्योग वाणिज्य महासङ्घको अपिल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घले भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा पुर्‍याएको ठुलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई आह्वान गरेको हो ।

बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासङ्घले आग्रह गरेको छ । सरकारी निकायले पृथ्वी राजमार्गसहित उक्त कोरिडोरका सडकहरूमा आवागमन रोक्न गरेको आग्रहलाई पालना गर्दै महासङ्घले उद्यमी–व्यवसायी, सर्वसाधारण र यात्रीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

महासङ्घले आफ्ना मातहतका सम्पूर्ण जिल्ला र नगर उद्योग वाणिज्य सङ्घहरू, वस्तुगत सङ्घहरू र सम्पूर्ण उद्यमी–व्यवसायीहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय हुन अपिल गरेको छ ।

बाढीबाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी भए तापनि प्रारम्भिक रिपोर्टहरूमा धेरै ठुलो भौतिक क्षतिको अनुमान गरिएको छ । बाढीले सर्वसाधारणका घर, उद्यमी–व्यवसायीका पसल, सवारी साधन, पुल र जलविद्युत गृहहरूमा गम्भीर क्षति पुर्‍याएको छ । महासङ्घले यस विपद्मा ज्यान गुमाउने र क्षति व्यहोर्नेहरू प्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनमा यथाशीघ्र कार्य गर्न सबै पक्षसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij