काठमाडौं : रसुवा बाढीबाट प्रभावित नेपाललाई अमेरिकाले तत्काल राहतका लागि ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) सहयोग गर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’मार्फत परिचालन गरिनेछ। सहयोगबाट बाढी प्रभावितका लागि आपत्कालीन आवास, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सहायता उपलब्ध गराइनेछ।
यसैगरी अमेरिकी विदेश मन्त्रालयले विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेको छ। विपद्को यस कठिन घडीमा अमेरिका नेपालको साथमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, बाढीपछिको अवस्थाको अनुगमन तथा राहत र पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न अमेरिकाले एक विपद् प्रतिकार्य सल्लाहकार समेत प्रभावित क्षेत्रमा खटाउने जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको सुरक्षाका विषयमा स्थानीय अधिकारीसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार तथा सूचनामा ध्यान दिन, स्थानीय अधिकारीका निर्देशन पालना गर्न र आपत्कालीन सूचनाका लागि ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’मा आबद्ध हुन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij