चितवन : सनराइज इङ्लिस सेकेन्डरी स्कुलको आह्वान तथा विभिन्न विद्यार्थी क्लबहरूको सक्रिय सहभागितामा कालिका नगरपालिका–१०, सिद्धिस्थित चेपाङ सिद्धि होस्टेलमा आश्रित ७५ जना बालबालिकालाई खाद्यान्न, दैनिक जीवनोपयोगी, शैक्षिक तथा खेलकुद सामग्री सहयोगस्वरूप हस्तान्तरण गरिएको छ।
विद्यालयका इन्टरयाक्ट क्लब अफ सनराइज, युथ रेडक्रस सर्कल अफ सनराइज तथा कम्युनिटी क्लब अफ सनराइजको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा करिब रु. ५० हजार बराबरका जिन्सी सामग्री होस्टेलका सञ्चालक भरत चेपाङलाई विद्यार्थी तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो। विभिन्न उमेर तथा कक्षामा अध्ययनरत छात्रावासमा आश्रित बालबालिकाको शैक्षिक विकास, दैनिक जीवनमा सहयोग तथा सिर्जनात्मक र शारीरिक विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख राजाराम पाठक, सहप्राचार्य भूमिराज तिवारी, आइटी हेड काशीराम आचार्य, प्लस टु संयोजक जीवलाल चालिसे, माध्यमिक तह संयोजक प्रकाश सुवेदी लगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। त्यसैगरी इन्टरयाक्ट क्लब अफ सनराइजकी अध्यक्ष सुरभी पुरीसहित क्लबका पदाधिकारीहरू, युथ रेडक्रस सर्कल तथा कम्युनिटी क्लब अफ सनराइजका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा आफ्नो जन्मदिन मनाउँदै गरेका माध्यमिक तह संयोजक प्रकाश सुवेदीले बालबालिकाको वृद्धि तथा विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले थप रु. ५ हजार नगद सहयोग प्रदान गरेका थिए। कार्यक्रममा चेपाङ बालबालिकाहरूले गीतमार्फत आफ्ना भावना, अनुभव तथा भोगाइहरू प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतीले कार्यक्रममा भावनात्मक वातावरण सिर्जना गरेको थियो।
होस्टेलका सञ्चालक भरत चेपाङले छात्रावासमा आश्रित बालबालिकाको अवस्था, उनीहरूका आवश्यकता तथा बालबालिकाको शिक्षाका लागि आफूले गर्दै आएका प्रयासबारे जानकारी गराएका थिए। उनले प्राप्त सहयोगले बालबालिकाको दैनिक जीवन तथा अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। विद्यालयले शिक्षा केवल कक्षाकोठामा सीमित नभई सेवा, सहकार्य, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनासँग जोडिनुपर्ने मान्यताअनुसार यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij