Logo

Oct 06 2026 | २०८३, आश्विन २०गते

चितवन उद्योग वाणिज्य संघद्वारा सांसद माननीय रवि लामिछानेलाई नारायणी नदी तटबन्धनका लागि ज्ञापनपत्र हस्तान्तरण

चितवन उद्योग वाणिज्य संघद्वारा सांसद माननीय रवि लामिछानेलाई नारायणी नदी तटबन्धनका लागि ज्ञापनपत्र हस्तान्तरण

विस्तृत डीपीआर र दीर्घकालीन तटबन्धनको माग

भरतपुर : नारायणी नदीमा आएको बाढी तथा कटानका कारण तटीय क्षेत्रमा पुगेको गम्भीर क्षतिलाई ध्यानमा राख्दै दीर्घकालीन संरक्षण र वैज्ञानिक तटबन्धनका लागि चितवन उद्योग वाणिज्य संघले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेलाई ध्यानाकर्षण पत्र तथा ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।  

नारायणी नदीको बाढी र कटानका कारण नारायणगढ बजार, आसपासका तटीय बस्तीका साथै पर्यटकीय र व्यापारिक क्षेत्रहरू उच्च जोखिममा परेकाले संघका प्रतिनिधिहरूले सांसद लामिछानेलाई भेट गरी उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।   
 

ज्ञापनपत्र हस्तान्तरण गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणी नदी किनारको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल प्राविधिक अध्ययन र दीर्घकालीन समाधानको आवश्यकता औंल्याउनुभयो।

उहाँले नारायणी नदीमा दिनप्रतिदिन भइरहेको बाढी र कटानका कारण देशकै प्रमुख धार्मिक, पर्यटकीय तथा आर्थिक केन्द्रका रूपमा रहेको चितवनको नारायणगढ बजार र तटीय क्षेत्र ठूलो संकटमा परेको बताउनुभयो। विशेष गरी भरतपुर महानगरपालिका वडा नं. १, २ र ३ अन्तर्गत पर्ने नारायणी तटीय क्षेत्रमा बाक्लो जनघनत्वका साथै महत्वपूर्ण व्यापारिक, आवासीय तथा सार्वजनिक संरचनाहरू रहेकाले समयमै दिगो र प्रभावकारी रोकथामका उपायहरू नअपनाइए भविष्यमा ठूलो मानवीय, भौतिक र आर्थिक क्षति हुने जोखिम रहेको उहाँको भनाइ थियो।   

ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछानेले चितवनको प्रमुख आर्थिक केन्द्र नारायणगढ र आसपासका तटीय बस्तीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। नारायणी नदीको बाढी र कटान चितवनबासीका लागि बर्सेनि भोग्नुपर्ने गम्भीर समस्या बनेकाले यसको अस्थायी समाधानले मात्र नपुग्ने र वैज्ञानिक तथा दीर्घकालीन तटबन्धन नै आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो। चितवन उद्योग वाणिज्य संघले उठाएका मागहरू अत्यन्तै संवेदनशील र जायज रहेको बताउँदै आफू चितवन क्षेत्र नं. २ को जनप्रतिनिधि भएकाले यस विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।   

ज्ञापनपत्रमा भरतपुर महानगरपालिका वडा नं. १, २ र ३ अन्तर्गत पर्ने नारायणी नदी किनारको जोरकुसुम क्षेत्रदेखि गौरेश्वर विश्वमन्दिर हुँदै नगरवन किनारसम्मको तटीय क्षेत्रमा विज्ञ प्राविधिक टोली परिचालन गरी विस्तृत प्राविधिक अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तत्काल तयार गर्न माग गरिएको छ । साथै, अध्ययनका आधारमा प्राप्त सिफारिस अनुसार आवश्यक स्थानहरूमा वैज्ञानिक तथा दीर्घकालीन तटबन्धन र नदी नियन्त्रणका पक्की संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नसमेत आग्रह गरिएको छ ।

सोही पत्रमार्फत नारायणगढ बजार, तटीय बस्ती, व्यापारिक तथा सार्वजनिक संरचना एवं धार्मिक–पर्यटकीय सम्पदाको सुरक्षाका लागि स्पष्ट कार्ययोजना बनाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनसमेत जोडदार माग गरिएको छ ।   

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ र चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको सहभागिता रहेको थियो।  

सोही अवसरमा संघीय संसद, प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज मिति २०८३ असोज १९ गते सिंहदरबार, काठमाडौँमा सम्पन्न बैठकमा चितवन उद्योग वाणिज्य संघको सहभागिता रह्यो।

उक्त कार्यक्रममा संघका तर्फबाट अध्यक्ष चिरञ्जीवी सुवेदी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले सहभागिता जनाउनुभएको थियो। कार्यक्रममा संघका तर्फबाट उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्याहरू र तिनका समाधानका उपायहरूसहितको १५ बुँदे सुझाव पत्र अध्यक्ष सुवेदीले पेस गर्नुभएको थियो। उक्त सुझाव पत्रमाथि बैठकमा विस्तृत छलफलसमेत भएको छ।

चितवन उद्योग वाणिज्य संघले कर, राजस्व, अन्तःशुल्क, बजेट, मौद्रिक नीति तथा औद्योगिक नीति लगायतका विषयमा समय–समयमा आफ्ना सुझावहरू पेस गर्दै आइरहेको छ। संघको सोही सक्रियतालाई आधार मानी समितिको बैठकमा आमन्त्रण गरिएपछि लिखित रूपमा यी सुझावहरू पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट