चितवन : चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बेलुका करिब ७:२० बजे सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र. ०६–००५ प १६१० नम्बरको बुलेट मोटरसाइकल आफैं अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किएको थियो।
दुर्घटनामा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देबेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ घर भई हाल भरतपुर–११ बस्दै आएका २८ वर्षीय सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा देबेन्द्र थापालाई बेलुका ८:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाइते सागर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।