चितवन : चितवनको कालिका-७ स्थित जुटपानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजना विस्तार र प्रशासनिक सुधार गर्दै उपभोक्तालाई सफा तथा सुरक्षित खानेपानी वितरण गर्न सफल भएको छ।
२०७५ सालसम्म कयरखोलाको पानीमा निर्भर रहेको यस संस्थाका पुराना फिल्टरहरूले काम गर्न छाडेपछि बर्खायाममा खोलामा जस्तै धमिलो पानी उपभोक्ताको धारामा पुग्ने गरेको थियो। यो समस्याको दीर्घकालीन समाधानका लागि २०७५ सालपछि तत्कालीन कालिकाका संस्थापक नगर प्रमुख खुमनारायण श्रेष्ठ (गाेपी), त्यसबेलाका कालिका वडा नं. ६ का वडा अध्यक्ष तथा हालका कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी र संस्थाका हालका अध्यक्ष होमवहादुर गुरुङको नेतृत्वमा रहेको समितिको विशेष पहलमा नयाँ खानेपानी योजना ल्याउन सफल भयाे।
उक्त योजना सञ्चालनका लागि २०७८ जेठ २३ गते सम्झौता भई २०७८ असोज १ गतेदेखि ठेकेदार कम्पनी ' निर. जेभी कन्स्ट्रक्सन' ले काम सुरु गरेको थियो। कोभिड-१९ महामारी लगायतका विभिन्न प्राविधिक कारणले केही समय ढिलाइ भए तापनि ठेकेदार कम्पनीले २०८० मंसीर महिनामा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी संस्थालाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।
नयाँ आयोजना हस्तान्तरण भएको एक वर्ष नबित्दै हालका अध्यक्ष होमवहादुर गुरुङ नेतृत्वको वर्तमान समितिले नगरपालिका र सम्बन्धित वडाहरूसँग प्रभावकारी समन्वय गरी संस्थाको मुहार नै फेरिदिएको छ। संस्थाको प्राङ्गणभित्र आकर्षक गार्डेन निर्माण, हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण तथा भवनभित्र मोज्याक टाइल जडान गरी कार्यालयलाई आकर्षक र व्यवस्थित बनाइएको छ।
स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिको निरन्तरको मिहिनेतका कारण अहिले जुटपानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हेर्न लायक हुनुका साथै चितवन जिल्लाकै उत्कृष्ट खानेपानी संस्थाको रूपमा स्थापित भइरहेको छ। धमिलो पानीको सास्ती खेपिरहेका स्थानीयवासीहरू अहिले आफ्नै धारामा शुद्ध र सफा पानी आउन थालेपछि हर्षित भएका छन्।
२०७५ सालमा १९ सय उपभोक्ता रहेकाे यस संस्थामा हाल ४ हजार ३०० भन्दा धेरै उपभोक्ता रहेकाछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij