Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

बुढीगण्डकीको बाढीले तहसनहस स्याउली बजार, एक महिनासम्म पनि भएन पीडितको पुनःस्थापना

बुढीगण्डकीको बाढीले तहसनहस स्याउली बजार, एक महिनासम्म पनि भएन पीडितको पुनःस्थापना

गोरखा : असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी -२ विशालनगर स्याउली बजारमा ठूलो क्षति पुर्‍याएको छ।बाढीले घर, खेतबारी, पशुचौपाया तथा घरभित्रका सामग्री बगाउनुका साथै कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको छ। बाढी गएको करिब एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रको सरसफाइ, भग्नावशेष व्यवस्थापन र पीडितको पुनःस्थापनामा पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।

बाढीले विशालनगर स्याउली बजारका स्थानीयको वर्षभरिको मेहनत र आम्दानीको स्रोतसमेत नष्ट गरेको छ। स्थानीय सुर श्रेष्ठका अनुसार बाढीले धानखेती लगाइएको खेत डुबानमा पारेर पूर्ण रूपमा नष्ट गरेको छ। करिब ५० मुरीसम्म धान उत्पादन हुने खेत बाढीले बगाएपछि यस वर्षको खाद्यान्न जोहो गर्ने आधारसमेत गुमेको उनले बताए।उनका अनुसार बजारमा बाढी आएको हल्ला फैलिएपछि स्थानीयले घरघरमा पुगेर सुरक्षित स्थानमा जान आग्रह गरेका थिए। त्यसपछि उनी र उनकी श्रीमतीले लगाउने कपडा झोलामा हालेर घर छाडेका थिए। दशैँ खर्चका लागि छुट्याएर राखेको ५० हजार रुपैयाँ खल्तीमा राखेर ज्यान जोगाउन निस्किएको क्षण सम्झँदै उनले बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको बताए।

‘२५ सालमा पनि यस्तो बाढी आएको थियो। त्यसबेला घर बगाएको भए पनि अहिले जस्तो खेतबारीमा माथिसम्मै पुगेर रोपेको धान सबै बगाएको थिएन,’ उनले भने, ‘यसपालि त खेतमा लगाएको सबै बाली सखाप भयो।’बाढीको त्रासदीसँगै घरबारविहीन भएका स्थानीयको पीडा अझै उस्तै छ। स्थानीय राजकुमार दाहालका अनुसार बाढी गएको लामो समय बितिसक्दा पनि प्रभावित बस्तीमा राज्यका तर्फबाट आवश्यक सरसफाइ र पुनःस्थापनाको काम हुन सकेको छैन। ढलेका घर, थुप्रिएको माटो र फोहोर हटाउने कामसमेत स्थानीयले आफ्नै खर्च र श्रममा गरिरहेका छन्।

‘बाढीले घर ढालेको छ, बाटो बन्द भएको छ। घरभित्र र वरपर थुप्रिएको माटो र भग्नावशेष हटाउन पनि आफैँ लाग्नुपरेको छ,’ उनले भने, ‘राज्यका तर्फबाट अहिलेसम्म प्रभावकारी सहयोग आएको छैन। विभिन्न संस्थाबाट आएको राहतसमेत फिर्ता गरिएको छ।’दशैँका बेला घर गुमाएका बाढीपीडित चुलीदेवी विद्यालयको भवनमा आश्रय लिन पुगेका थिए। तर त्यहाँ बसोबास र खानपानको पर्याप्त व्यवस्था नहुँदा थप समस्या भोग्नुपरेको दाहालले बताए। उनका अनुसार बाढी प्रभावितको वास्तविक अवस्था बुझ्न र क्षतिग्रस्त बस्तीको अवलोकन गर्न जनप्रतिनिधि तथा सरोकारवाला निकाय नपुगेको स्थानीयको गुनासो छ।

बाढीले क्षति पुर्‍याएको नयाँ पुल क्षेत्रमा मात्रै जनप्रतिनिधि तथा अन्य सरोकारवालाको ध्यान केन्द्रित भएको तर बस्तीभित्रको विनाशप्रति बेवास्ता गरिएको उनको आरोप छ। क्षतिग्रस्त सडक र बाटोसमेत स्थानीयले घरघरबाट बाटो खोल्दै आवतजावत सहज बनाउने प्रयास गरिरहेका छन्।डोजर आएर पनि बस्तीभित्रसम्म पुग्न सकेन। घर भत्काएर र स्थानीयको सहयोगमा बाटो खोल्नुपरेको छ,’ उनले भने, ‘हामीले ठूलो क्षति बेहोरेका छौँ, तर हाम्रो पीडा सुनिदिने र बोलिदिने कोही छैन। राज्यले हाम्रो अवस्था बुझोस्।’

बाढीको अर्को पीडादायी कथा राममाया घलेको छ। बाढीले उनको घरभित्रैसम्म माटो र गेग्रान थुपारेपछि घर बस्नै नमिल्ने भएको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री डुबेर नष्ट भएका छन्। पशुचौपायासमेत बाढीको चपेटामा परेका छन्। बाख्रा फुकाएर ज्यान जोगाए पनि घरभित्रका सामान निकाल्न नपाएको उनले बताइन्।‘घरभित्रसम्म माटो भरिएको छ। बस्न सक्ने अवस्था छैन। अब कहाँ जाने, कहाँ बस्ने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘माटो फाल्ने शक्ति छैन, साना छोराछोरी छन्। सहयोग गर्ने मान्छे पनि छैनन्।’

बाढीले घर र सम्पत्ति मात्र नभई पीडितको मानसिक अवस्थासमेत प्रभावित बनाएको छ। दशैँको समयमा आएको बाढीका कारण चाडपर्वको कुनै अनुभूति गर्न नपाएको घलेको भनाइ छ। घरभित्र पालेका बङ्गुर तथा अन्य पशुचौपायामा समेत क्षति पुगेपछि परिवारको जीविकोपार्जन थप संकटमा परेको छ।विशालनगर स्याउली बजारमा बाढीले घर, खेतबारी, सडक र स्थानीय पूर्वाधारमा क्षति पुर्‍याउँदा प्रभावित परिवार अहिले आधारभूत आवश्यकताकै अभावमा छन्। घरमा फर्केर बस्न सक्ने अवस्था छैन भने सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था पनि हुन सकेको छैन।स्थानीयले तत्काल राहत, सरसफाइ, आवास र जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij