Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

कैलाली  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

आज प्रदेशसभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए । 

बैठकमा कांग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीको संसदीय दललेसमेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएपछि बजेट पारित गर्न सहमत भएका अवस्थामा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । 

उनले सभामुखलेसमेत सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेको उल्लेख गर्दै त्यस कारण पनि वर्तमान सरकार सत्तामा रहिरहनु उपयुक्त नभएको कांग्रेसको धारणा रहेको बताए ।

कांग्रेसले सरकारविरुद्ध नाराबाजीसहित अवरोध जारी राखेपछि सभामुख भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षीसँग सहमति जुट्न नसकेपछि पुनःबैठक नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

यसअघि आर्थिक वर्ष सुरु भएको करिब तीन महिनासम्म यहाँ ‘बजेट होलीडे’ को अवस्था रहेको थियो । बजेटकै कारण तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार प्रदेशसभामा बजेट पेस गरिसकेपछि विघटन भएको थियो । त्यसपछि बनेको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रदेशसभाबाट प्रतिपक्षीको बहिष्कारका बीच बहुमतले बजेट पारित भएको थियो । हालको बजेटमाथि पनि पार्टीभित्र र बाहिर विरोध भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट