इलाम : इलामका विभिन्न स्थानमा रहेका ट्राफिक प्रहरी पोस्टमाथि सवारी चालक र यातायात व्यवसायीबाट नियमित रकम असुल्ने गरेको आरोप लागेको छ।रकम बुझाउने सवारीलाई सहजता दिने तर नबुझाउनेलाई अनावश्यक दुःख दिने गरिएको आरोप सार्वजनिक भएपछि ट्राफिक प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ।रक्से, विप्लाटे, तीनघरे, फिक्कल, हर्कटे, जोरकलश र दानाबारीलगायतका ट्राफिक पोस्टमा यस्तो असुली हुने गरेको आरोप छ। विशेषगरी विप्लाटे, जोरकलश र फिक्कल पोस्टमा बढी रकम संकलन हुने गरेको दाबी गरिएको छ।
यातायात व्यवसायीका अनुसार सवारीसाधनको प्रकृति हेरेर मासिक ३०० देखि २ हजार ५०० रुपैयाँसम्म माग्ने गरिएको छ। रकम नदिने सवारीलाई सामान्य त्रुटि देखाएर रोक्ने तथा चेकजाँचका नाममा दुःख दिने गरिएको उनीहरूको आरोप छ।अझ रकम बुझाउने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्दा वा अन्य नियम उल्लङ्घन गर्दा समेत उन्मुक्ति पाउने गरेको दाबी छ। सडक सुरक्षाको जिम्मेवारी पाएको निकायमै आर्थिक लेनदेनका आधारमा नियम कार्यान्वयन भइरहेको गम्भीर विषय हो।जिल्ला ट्राफिक प्रहरी प्रमुख छन् लीलानाथ न्यौपाने। मातहतका पोस्टमा भइरहेको भनिएको गतिविधिबारे जिल्ला नेतृत्व अनभिज्ञ रहे पनि आरोपको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले पोस्टगत गतिविधि, राजस्व अभिलेख तथा यातायात व्यवसायीका गुनासा जाँच गर्नुपर्ने देखिन्छ।आरोप पुष्टि भए रकम उठाउने कर्मचारी मात्र होइन, त्यसलाई संरक्षण गर्ने वा लाभ लिने माथिल्लो तहका जिम्मेवार व्यक्तिमाथि समेत अनुसन्धान हुनुपर्छ।ट्राफिक प्रहरीको काम सडकमा नियम लागू गराउने हो कि नियमकै नाममा ‘महिनावारी’ उठाउने ? इलाममा उठेको यो प्रश्नको जवाफ अब प्रहरी नेतृत्वले दिनुपर्नेछ।स्रोतका अनुसार उनै प्रमुख न्यौपानेको संरक्षणमा यसरी पोस्टबाट रकम उठाउने कार्य भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij