काठमाडौं : जय नेपाल पार्टीले आठबुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले मुलुकमा बढ्दो महँगी नियन्त्रणदेखि संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापनासम्मका विषय समेटेर सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेको हो। पार्टीका केन्द्रीय सदस्य फणिराज लोहनीले आफ्ना माग उचित रूपमा सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने निर्णय गरिएको बताएका छन्। सरकारले जनताको जनजीविकासँग जोडिएका समस्या र पार्टीले उठाएका राष्ट्रिय मुद्दालाई बेवास्ता गरे आन्दोलनका कार्यक्रम अघि बढाइने उनको भनाइ छ। पार्टीले सरकारसमक्ष अघि सारेका आठबुँदे मागमा निम्न विषय समेटिएका छन् ।
1. आकासिँदो बजार भाउ र महँगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने।
2. हिन्दु, बौद्ध र किरातलगायतका धार्मिक तथा सांस्कृतिक पहिचान समेटिएको सनातन हिन्दु अधिराज्य पुनर्स्थापना गर्नुपर्ने।
3. संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुपर्ने।
4. धर्मान्तरण रोक्दै कुल धर्म तथा मौलिक धर्मको संरक्षण गर्नुपर्ने।
5. गौहत्या नियन्त्रण, गाईको मासुको बिक्री–वितरणमा प्रतिबन्ध तथा गौशालाको सञ्चालन गर्नुपर्ने।
6. आर्थिक विकास र समुन्नत नेपालको निर्माणका लागि प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने।
7. खर्चिलो प्रदेश संरचनाको औचित्यबारे जनमतसंग्रह गर्नुपर्ने।
8. सहकारी तथा लघुवित्त पीडितका समस्या तत्काल समाधान गर्नुपर्ने। पार्टीले यी मागलाई राष्ट्रियता, धार्मिक–सांस्कृतिक पहिचान, सुशासन र जनजीविकासँग जोडिएका विषयका रूपमा अघि सारेको छ। सरकारले माग सम्बोधन नगरे थप दबाबमूलक कार्यक्रमसहित आन्दोलनलाई अघि बढाउने पार्टीले जनाएको छ।