Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, दुई करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, दुई करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

चितवन :  नेपालको पहिलो केबलकार मनकामना केबलकार २९औँ वर्षमा प्रवेश गर्दैछ। चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते (भोलि) २८औँ वर्ष पूरा गर्दै २९औँ वर्षमा प्रवेश गर्न लागेको हो।
कम्पनीका अनुसार हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारमार्फत यात्रा गरिसकेका छन्। चितवन को–ई समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले विज्ञप्ति जारी गर्दै स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले केबलकारप्रति विश्वास र माया व्यक्त गर्ने यात्रु, सेवा सञ्चालनमा योगदान पुर्‍याउने कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, सहिद लखन र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट