Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

गर्भवती युवतीको मृत्युपछि बरहथवाको सरकारी अस्पतालमा तोडफोड तथा आगजनी

गर्भवती युवतीको मृत्युपछि बरहथवाको सरकारी अस्पतालमा तोडफोड तथा आगजनी

जनकपुरधाम : उपचारको क्रममा गर्भवती युवतीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले सर्लाहीको बरहथवामा रहेको नगर अस्पतालमा तोडफोड र आगजनी गरेका छन् ।आइतबार राति बरहथवा नगरपालिका–५ हातीढुंगा पानीटंकी टोल बस्ने रुपेश रामकी श्रीमती ९ महिनाकी गर्भवती करिब २१ वर्षीया सीमा राम देवीको उपचारको क्रममा मृत्यु भएपछि नगर अस्पताल बरहथवामा आगजनी तथा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गर्भवती सीमा बिरामी परेपछि आइतबार उनलाई उपचारको लागि आफन्तले नगर अस्पताल पुर्‍याएका थिए। उपचारको क्रममा उनको अवस्था गम्भीर देखिएपछि चिकित्सकले थप उपचारको लागि वीरगन्ज रेफर गरेका थिए । वीरगन्ज लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उपचारमा डाक्टरले लापरबाही गर्दा उनको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयवासीले नगर अस्पतालमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनी र तोडफोडबाट अस्पतालको इमरजेन्सी कक्षमा ठुलो क्षति पुगेको छ ।  घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगजनी नियन्त्रणमा लिएपनि इमरजेन्सी कक्षमा धेरै नै क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

पक्राउ पर्नेमा बरहथवा–५ का ३३ वर्षीय राजेश कुमार महरा, २१ वर्षीय रोहन महरा, रौतहटको गजुरा नगरपालिका–९ सिमरा बस्ने ४२ वर्षीय भुसेनी महरा र उनका छोरा २० वर्षीय राजन राम छन् । आगजनीबाट अस्पतालमा झण्डै तीस लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अस्पतालमा पेट्रोल छर्केर आगो लगाउने र तोडफोड गर्ने कार्यमा सोही अस्पतालमा कार्यरत कर्मचारी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पनि संलग्न रहेका प्रहरीले जनाएको छ । घटनापछि उनीहरू फरार छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट