काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ अब नवनियुक्त आईजीपी मनोज केसीलाई अदालतको म्याद तामेल र सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णयको फाइल पेस भएपछि अघि बढ्ने भएको छ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तय भएको थियो । इजलासमा कार्कीको रिटमा आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेश हुन नसकेपछि आजको सुनुवाइ हुन नसकेको हो ।सर्वोच्च अदालतले म्याद तामेली सुनिश्चित गर्न र विवादित निर्णयको सक्कल फाइल अर्को पेसीमा पेस गर्न निर्देशन दिएपछि मुद्दाको आगामी प्रक्रिया त्यसैमा केन्द्रित हुने भएको हो।
सोमबार म्याद तामेल नभएको विषय उठेपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन सकेन । अब पहिलो चरणमा केसीलाई अदालतको म्याद विधिवत् रूपमा तामेल गर्नुपर्नेछ । म्याद तामेल भएको प्रमाण अदालतमा पेस भएपछि रिटमाथिको सुनुवाइ अघि बढ्नेछ।त्यसपछि सरकारले सर्वोच्च अदालतको आदेशअनुसार १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्नेछ।महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस हुने उक्त जवाफमा सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर मनोज केसीलाई नियुक्त गर्नुको आधार र कारण स्पष्ट पार्नुपर्नेछ।
यससँगै प्रधानमन्त्री कार्यालयले केसीलाई आईजीपी नियुक्त गर्ने र कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा खटाउने निर्णयसम्बन्धी फाइल पनि अर्को पेसीमा अदालतमा पेस गर्नुपर्नेछ। उक्त फाइलबाट सरकारले गरेको निर्णयको प्रक्रिया, आधार र औचित्यबारे अदालतले थप जानकारी प्राप्त गर्नेछ।म्याद तामेली पूरा भएपछि र सरकारी लिखित जवाफ तथा निर्णयसम्बन्धी फाइल प्राप्त भएपछि सर्वोच्च अदालतले दुवै पक्षका कानुन व्यवसायीको बहस सुन्नेछ। त्यसपछि कार्कीले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा इजलासले निर्णय गर्नेछ।
यदि अन्तरिम आदेश जारी भएमा मुद्दाको अन्तिम फैसला नआउँदासम्म त्यसको प्रभाव सरकारी निर्णय र सम्बन्धित पक्षको पद स्थितिमा पर्न सक्छ। अन्तरिम आदेश जारी नभएमा भने तत्कालका लागि सरकारी निर्णय कार्यान्वयनमा रहनेछ। तर, त्यसले कार्कीको रिटको अन्तिम निरूपणलाई भने प्रभावित गर्दैन।अन्तरिम आदेशबारे निर्णय भएपछि पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी रहनेछ। त्यसका लागि दुवै पक्षको लिखित जवाफ, उपलब्ध कागजात र कानुनी प्रश्नहरूको अध्ययन तथा बहसपछि सर्वोच्च अदालतले अन्तिम फैसला गर्नेछ।यसरी कार्कीको मुद्दामा तत्कालको निर्णायक चरण अन्तरिम आदेशसम्बन्धी सुनुवाइ हुनेछ। त्यसबाट सरकारी निर्णयलाई तत्काल चुनौती दिने कि नदिने भन्ने विषयमा अदालतको प्रारम्भिक धारणा स्पष्ट हुनेछ। तर आईजीपी नियुक्तिसम्बन्धी विवादको अन्तिम कानुनी निरूपण भने मुद्दाको अन्तिम फैसलाबाट मात्रै हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij