चितवन : जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ ।सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो ।पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गरे ।नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ ।
सो अवसरमा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इञ्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक बत्ती र सडक सुरक्षाका बारेमा जानकारी दिएका थिए ।सबैभन्दा धेरै ट्राफिक लाइट राखिएको भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले भरतपुर महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको जानकारी दिँदै यसको उपयोग गरी ट्राफिक व्यवस्थापनमा जुट्नुपर्ने बताए । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो ।
भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि वि.सं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो ।सम्झौताअनुसार वि.सं २०८२ चैत २० गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । निर्माण व्यवसायी कम्पनीले ढिला गरी लाईट जडान गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij