रत्ननगर : वातावरण संरक्षण, सडक सुरक्षा तथा वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रत्ननगर–१० स्थित शुभारम्भ स्कुलबाट विद्यालयस्तरीय सचेतना अभियान सुरु गरिएको छ।कार्यक्रममा युवा तथा सामाजिक अभियन्ता बसन्त रानाले शुभारम्भ स्कुलका विद्यार्थीहरूलाई वातावरण संरक्षण, सडक सुरक्षा तथा वन्यजन्तुको महत्व र संरक्षणका विषयमा जानकारी गराउँदै सचेतना अभिवृद्धि गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि टाँडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज पाण्डेले सडक सुरक्षाका लागि प्रयोग हुने विभिन्न ट्राफिक संकेत तथा चिह्नहरूको बारेमा जानकारी गराउनुभएको थियो। साथै, लागूऔषध दुर्व्यसन न्यूनीकरणका विषयमा समेत विद्यार्थीहरूलाई सचेत गराउनुभएको थियो।
सोही अवसरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रहरी निरीक्षक युवराज पाण्डेले हस्ताक्षर गरी अभियानको औपचारिक सुरुवात गर्नुभएको थियो।विद्यालयको पुस्तकालयमा सडक सुरक्षा तथा वन्यजन्तुको व्यवहारसम्बन्धी पुस्तकहरूका साथै ट्राफिक सचेतनासम्बन्धी पम्प्लेटसमेत उपलब्ध गराइएको थियो। सचेतनामूलक कार्यक्रमपछि विद्यार्थीहरूबीच कार्यक्रमसँग सम्बन्धित प्रश्नोत्तर प्रतियोगिता सञ्चालन गरिएको थियो, जसमा कक्षा २ र ६ का विद्यार्थीहरू पुरस्कृत भएका थिए।कार्यक्रममा वातावरण तथा पशु कल्याणका अभियन्ता सुरजन श्रेष्ठको समेत उपस्थिति रहेको थियो।कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य पशुपति उपाध्यायले शुभारम्भ स्कुलबाट यस्तो सचेतनामूलक अभियान सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै वातावरण संरक्षण, सडक सुरक्षा र सामाजिक उत्तरदायित्वसम्बन्धी यस्ता कार्यक्रम चितवनका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरूमा आवश्यक रहेको बताउनुभयो।