Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

मृत्युदण्डको सजाय पाएका इरानी महिलाहरूको जेलबाट गुहार

मृत्युदण्डको सजाय पाएका इरानी महिलाहरूको जेलबाट गुहार

इरानमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्डको सजाय पाएका महिलाहरूले जेलबाट सहयोगका लागि अपिल गरेका छन् । उनीहरूले सोधपुछका क्रममा यातना र दुर्व्यवहार गरिएको तथा जबर्जस्ती अपराध स्वीकार गर्न लगाइएको आरोप लगाएका छन् ।बीबीसी फारसीका अनुसार २१ वर्षीया तारानेह रहिमी मृत्युदण्डको सजाय पाएपछि जेलमा छिन् । उनका आफन्तका अनुसार हालै खुट्टामा कुटपिट गरिएकाले उनी राम्ररी हिँड्न नसक्ने अवस्थामा पुगेकी छन् । टाउकोमा लागेको चोटको उपचार नहुँदा कानमा संक्रमण भएको र सन्तुलन कायम राख्नसमेत समस्या देखिएको छ ।तारानेहले आफ्नो मनोबल कायम राखे पनि केही दिन निकै निराश भएर रुने गरेको उनका काका मसुद नुरमोहम्मदीले बताएका छन् । उनका अनुसार तारानेह र उनकी जुम्ल्याहा बहिनी रोमिना जनवरीमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएपछि पक्राउ परेका थिए ।

आमाले जेलमा पहिलोपटक छोरीहरूलाई भेट्दा उनीहरूको अनुहार सुन्निएको र शरीरभरि चोटैचोट लागेको थियो । कपालसमेत उखेलिएको अवस्थामा आवाज सुनेर मात्रै छोरीहरूलाई चिन्न सकेको नुरमोहम्मदीले बताएका छन् । उनका अनुसार बहिनीलाई आफ्नै अगाडि बलात्कार गर्ने धम्की दिएपछि तारानेहले दबाबमा अपराध स्वीकार गरेकी थिइन् ।संयुक्त राष्ट्रसंघका इरानसम्बन्धी मानवअधिकार प्रतिवेदक माइ सातोका अनुसार यस वर्ष जनवरीमा भएका प्रदर्शनसँग सम्बन्धित मुद्दामा छ महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पुरुषको संख्या अझै बढी भए पनि दशकौँयता कहिल्यै नदेखिएको संख्यामा महिला प्रदर्शनकारी र सरकारविरोधीहरूलाई मृत्युदण्डको सजाय सुनाउन थालिएको एम्नेस्टी इन्टरनेसनलकी इरान अनुसन्धानकर्ता राहा बहरैनीले बताएकी छन् ।इरानी दूतावासले भने प्रदर्शनसम्बन्धी मुद्दामा मृत्युदण्ड बढेको भन्ने दाबीलाई भ्रामक भन्दै यातनाका आरोप अस्वीकार गरेको छ ।

प्रदर्शनपछि हजारौँको मृत्यु भएको दाबी

जनवरीमा भएका प्रदर्शन आर्थिक असन्तुष्टिबाट सुरु भएका थिए । डिसेम्बरको अन्त्यतिर सुरु भएको उक्त प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछि धर्मगुरु नेतृत्वको शासनविरुद्ध भएको सबैभन्दा ठूलो आन्दोलन बनेको थियो ।अमेरिकास्थित मानवअधिकारवादी संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) का अनुसार प्रदर्शनपछिको दमनमा सात हजारभन्दा बढी मानिस मारिएको पुष्टि भएको छ । तीमध्ये अधिकांश प्रदर्शनकारी रहेको र वास्तविक संख्या अझै बढी हुन सक्ने संस्थाको अनुमान छ ।इरानी सरकारले भने अमेरिका र इजरायलले अशान्ति भड्काएको आरोप लगाउँदै मृत्युका लागि ‘आतंकवादी’ र ‘हुलदंगाकारी’लाई जिम्मेवार ठहर गरेको छ । सरकारका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित तीन हजार ११७ जनाको मृत्यु भएको थियो ।

जुम्ल्याहा दिदीबहिनीलाई जनवरीको अन्त्यतिर पक्राउ गरिएको थियो । प्रदर्शन समाप्त भएको करिब दुई सातापछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । परिवारले तीन महिनाभन्दा बढी समयसम्म उनीहरूलाई कहाँ राखिएको छ भन्ने जानकारीसमेत पाउन नसकेको बताइएको छ ।इस्फहानमा भएको प्रदर्शनसम्बन्धी मुद्दामा उनीहरूलाई मुछिएको थियो । उक्त क्षेत्रमा इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का एक सुरक्षाकर्मी मारिएका थिए । अदालतको पूर्ण दस्तावेज सार्वजनिक नभए पनि तारानेहलाई इरानको इस्लामिक दण्ड संहिताअन्तर्गत मृत्युदण्ड हुन सक्ने अपराध ‘मोहारेबेह’ अर्थात् सशस्त्र गतिविधिमार्फत मानिसको जीवन वा सम्पत्तिलाई जोखिममा पार्ने अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ ।

रोमिनालाई भने उक्त अपराधमा सहयोग गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदक सातोले बताएकी छन् । परिवारका अनुसार दुवै दिदीबहिनीले आफूमाथिका आरोप अस्वीकार गरेका छन् । तारानेहसँग धारिलो हतियार रहेको कुनै प्रमाण नभएको उनीहरूको दाबी छ । सातोका अनुसार उक्त मुद्दामा १० जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, प्रत्येक व्यक्तिले के अपराध गरेका थिए भन्ने स्पष्ट खुलाइएको छैन ।दिदीबहिनीका वकिलहरूले सोधपुछका क्रममा यातना र यौन दुर्व्यवहार गरिएको भन्दै उजुरी दिएका छन् । तर, उक्त उजुरीमाथिको अनुसन्धान उनीहरूलाई यातना दिएको आरोप लागेका अधिकारीहरूकै निगरानीमा भइरहेको बताइएको छ ।

मृत्युदण्डको सजाय पाएका अन्य महिलाको पनि गुहार

इरानमा मृत्युदण्डको सजाय पाएका अन्य महिलाले पनि जेलबाट निराशा र प्रतिरोध मिश्रित सन्देश पठाएका छन् । ३३ वर्षीया सिभिल इन्जिनियर महबुबेह शबानीलाई सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइएको थियो । मानवअधिकारवादी संस्थाहरूका अनुसार घाइते प्रदर्शनकारीलाई ओसारपसार गरेको आरोपमा उनलाई इरानको जासुसीसम्बन्धी कानुनअन्तर्गत सजाय सुनाइएको हो ।उनले उत्तरपूर्वी इरानको मशहदस्थित जेलबाट आफू र अन्य कैदीका लागि सहयोग माग्दै सन्देश पठाएकी छन् । ‘सबैजना मानसिक रूपमा निकै पीडादायी अवस्थामा छन्, विशेषगरी सजाय अन्तिम भइसकेका कैदीहरू,’ उनले भनेकी छन् ।

मशहदकै जेलमा २३ वर्षीया नज्मेह अमिनी पनि छिन् । जनवरीको प्रदर्शनपछि पक्राउ परेकी उनलाई सामाजिक सञ्जालमा लेखेको पोस्टका कारण ईश्वरनिन्दाको अभियोगमा मृत्युदण्ड सुनाइएको मानवअधिकारवादी संस्थाहरूले बताएका छन् ।

‘म जीवित रहुन्जेल मेरो एउटै आशा छ : मेरो जीवन फाँसीको डोरीमा समाप्त हुनुअघि स्वतन्त्र र समृद्ध इरान देख्न पाऊँ,’ उनले भ्वाइस मेसेजमा भनेकी छन् ।

२७ वर्षीया मोज्देह हाशेमी बजारगानी पनि मृत्युदण्डको जोखिममा रहेको मानवअधिकारवादी संस्थाहरूले बताएका छन् । अप्रिलमा पक्राउ परेकी उनलाई युद्धका क्रममा जासुसीलगायत आरोपमा दोषी ठहर गरिएको बताइएको छ । अमेरिकास्थित इरानी मानवअधिकार संस्था तवानाले जेलबाट गरिएको उनको फोन वार्ताको अडियो सार्वजनिक गरेको छ । उक्त अडियोमा उनले टाउको, घाँटी र शरीरमा कुटपिट गरिएको तथा जबर्जस्ती अपराध स्वीकार गर्न लगाइएको बताएकी छन् ।

‘उनीहरूले मलाई जासुसी गरेको आरोप लगाए । पैसा लिएर काम गरेको भन्छन् । यदि मैले जासुसी गरेबापत पैसा पाएको भए, मसँग गाडी वा घर हुन्थ्यो । तर, मसँग केही छैन,’ अडियोमा उनले भनेकी छन् ।एम्नेस्टी इन्टरनेसनलले यी सबै मुद्दाका आरोप राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएको छ । इरानी दूतावासले भने यातनाका आरोप अस्वीकार गर्दै दबाबमा गराइएको स्वीकारोक्तिको कानुनी मान्यता नहुने जनाएको छ ।

महिलामाथिको दमन बढेको मानवअधिकारवादीको आरोप

संयुक्त राष्ट्रसंघका प्रतिवेदक सातोका अनुसार जनवरीको प्रदर्शनसँग सम्बन्धित मुद्दामा कम्तीमा ३९ जनालाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ । उनले पुरुष र महिला दुवैको गिरफ्तारी तथा सजायमा तीव्र वृद्धि भएको बताउँदै महिलालाई मृत्युदण्ड दिने क्रम बढ्नु राज्य दमनको स्थापित प्रवृत्ति थप विस्तार भएको संकेत भएको उल्लेख गरेकी छन् ।टर्कीमा रहेका इरानी मानवअधिकार कानुन व्यवसायी मुसा बरजिनका अनुसार मृत्युदण्ड निर्धारण गर्दा लिंग वा उमेरजस्ता पक्षको महत्त्व घट्दै गएको देखिन्छ । इरानमा यस्ता मुद्दाको आधिकारिक विवरण प्रायः सीमित हुने र कतिपय घटना सार्वजनिक नै नहुने बताइएको छ ।

सातोका अनुसार प्रदर्शनसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय पाएका छ महिलाबाहेक यस वर्ष ईश्वरनिन्दा, युद्धसँग सम्बन्धित गतिविधि, जासुसी तथा मोहारेबेहका आरोपमा थप तीन महिलालाई मृत्युदण्ड सुनाइएको छ ।सन् २०२५ सम्मको एक दशकमा एचआरएएनएले अभिलेख गरेको यस्तै अपराधमा मृत्युदण्ड पाउने महिलाको संख्याभन्दा यस वर्षको संख्या बढी छ। त्यस अवधिमा कुनै पनि वर्ष तीनभन्दा बढी महिलालाई यस्तो सजाय सुनाइएको थिएन।सातोले प्रदर्शनसँग सम्बन्धित तीन मुद्दामा मृत्युदण्डको फैसला उल्टाइएको भए पनि दुई मुद्दा पुनः सुनुवाइका लागि पठाइएको बताएकी छन् । सार्वजनिक चासो घटेपछि न्यायपालिकाको अर्को शाखाले उल्टाइएको मृत्युदण्डको फैसला पुनः लागू गर्ने प्रवृत्ति बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरेकी छन् ।

सातोका अनुसार सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भएको प्रदर्शन महिलाका लागि निर्णायक मोड बनेको थियो । महिलाहरू राज्यका नीति र नियन्त्रणकारी संरचनालाई चुनौती दिने अग्रपंक्तिमा देखिएपछि उनीहरू राज्य दमनको निशानामा परेको उनको भनाइ छ ।इरानी दूतावासले भने देशमा न्यायिक प्रक्रिया संविधान र कानुनी शासनअनुसार सञ्चालन हुने दाबी गरेको छ । मृत्युदण्डसम्बन्धी मुद्दाहरू गम्भीर अपराध, हिंसा, आतंकवाद, जासुसी, शत्रुपक्षसँग गुप्तचर सहकार्य र मोहारेबेहजस्ता अभियोगमा आधारित हुने उसको भनाइ छ ।संयुक्त राष्ट्रसंघका विज्ञहरूका अनुसार प्रतिव्यक्ति जनसंख्याका आधारमा इरान विश्वमै सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । मानवअधिकारवादी संस्थाहरूले गत वर्ष दशकौँयताकै सबैभन्दा धेरै मृत्युदण्ड दिइएको बताएका छन् ।

एचआरएएनएले सन् २०२६ को अक्टोबरसम्मको एक वर्षमा दुई हजार तीन जनालाई मृत्युदण्ड दिइएको अभिलेख राखेको छ । तीमध्ये ४७ जना महिला थिए । अधिकांशलाई हत्या र लागुऔषध तस्करीजस्ता अपराधमा मृत्युदण्ड दिइएको थियो ।परिवारले जुम्ल्याहा दिदीबहिनीलाई सकेसम्म सहयोग गरिरहेको नुरमोहम्मदीले बताएका छन् । रोमिनालाई संगीत मन पर्ने र फोनमा आफन्तलाई गीत बजाइदिन आग्रह गर्ने गरेको उनको भनाइ छ । त्यस्तै, तारानेहलाई घोडा निकै मन पर्ने र भविष्यमा घोडा प्रजनन केन्द्र स्थापना गर्ने सपना रहेको उनले बताए ।

‘हामी भविष्यमा उसलाई त्यो सपना पूरा गर्न सहयोग गर्ने योजना सुनाउँछौँ । यसरी नै उसलाई आशा दिलाउने प्रयास गरिरहेका छौँ,’ नुरमोहम्मदीले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट