Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

इजरायली हवाई आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुखको मृत्यु

इजरायली हवाई आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुखको मृत्यु

काठमाडौंः गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित गाजाको आन्तरिक मन्त्रालयले गाजाको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा ५० वर्षीय नहल मारिएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

नहललाई यसै वर्ष सेप्टेम्बरमा आन्तरिक सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो। उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलले सैन्य कारबाहीका क्रममा पक्राउ गरेपछि उनलाई पदमा नियुक्त गरिएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा नहल मारिएको पुष्टि गरेका छन्। यसअघि मंगलबार गाजामा भएका अन्य दुई इजरायली हवाई आक्रमणमा थप ६ जनाको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्मी तथा स्वास्थ्य अधिकारीहरूले बताएका थिए।

अधिकारीहरूका अनुसार गाजाको दक्षिणमा रहेको वादी गाजामा भएको आक्रमणमा एक युवकसहित तीन जनाको मृत्यु भएको थियो। त्यस्तै, खान युनिसको पश्चिममा रहेको अल (मवासी क्षेत्रको प्रहरी चौकीमा भएको अर्को आक्रमणमा दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका थिए।

हमासको आन्तरिक मन्त्रालयअन्तर्गत रहेको गाजा प्रहरीले प्रहरी चौकीमाथिको आक्रमणको निन्दा गरेको छ। उसले यसलाई क्षेत्रमा अराजकता फैलाउने उद्देश्यले प्रहरी संस्थालाई लक्षित गरी भइरहेको अभियानको हिस्सा भनेको छ। यता इजरायली सेनाले भने क्षेत्रमा रहेका ‘आतंकवादी’लाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट