Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘प्याउली’ एक आत्माभिमानी महिलाको कथा

‘प्याउली’ एक आत्माभिमानी महिलाको कथा

‘प्याउली’ उपन्यास पढिसकेपछि मनमा निकैबेर कुरा खेलिरह्यो । के लेखकले लेखेजस्तै नेपाली महिलाहरू जीवनमा कठोर निर्णय गर्न सक्षम छन् ? यदि उपन्यासकी मुख्य पात्र जनजाति समुदायको नभई हिन्दु समाजबाट प्रतिनिधित्व गर्थिन् भने त्यस्तो बोल्ड निर्णय गर्न सक्थिन् ? त्यस्तै नेपालका जनजाति महिलाहरू हिन्दु महिलाहरूभन्दा कत्तिको स्वतन्त्र छौँ ? भन्ने प्रश्न पनि मनमा आइरह्यो ।

हङकङमा हामी लाहुरेका सन्ततिहरू धेरैजसो जनजाति समुदायका छौँ । आज पनि समाजका सबैभन्दा तल्लो तहमा रहेका हामी महिलाहरू, हाम्रा दिदीबहिनी र आमाहरू, हाम्रो नेपाली पहिचान, धर्म, संस्कार, संस्कृति, वेशभूषा र भाषाको स्थानीय चिनियाँ समाजमा आपसी सहज र समझदारी कायम गर्न स्थानीयद्वारा सम्पन्न कार्यक्रमहरूमा आबद्ध हुने सम्पूर्ण नेपाली आदिवासी महिलाहरूको सांस्कृतिक कार्यक्रमहरूको स्मरण भयो ।

नेपाली भएको कारणले हामी संसारको जुनसुकै कुनामा रहे तापनि हाम्रा आमाहरूले हामीलाई हाम्रो सामाजिक, संस्कृति र परम्परामा रहन सिकाएको सम्झें । यहाँ हङकङमा विभिन्न नेपालीहरूका क्षेत्रीय र जातीय संघसंस्थाहरूको उद्देश्य पनि नेपालसँग सम्पर्कमा रहेर नेपाली धर्मकर्म, रीतिरिवाज नयाँ पुस्तालाई हस्तान्तरण गर्नकै लागि गरेको सम्झिएँ । हिजोदेखि आजसम्मै सबैभन्दा बढी हिन्दु संस्कारका धार्मिक र सामाजिक मान्यता, संस्कृतिमा हामी नेपाली जनजाति महिलाका स्थिति कस्तो छ भन्ने कुराको एउटा अंश बालिका बान्तावाको प्याउली उपन्यासमा उजागर भएको पाएँ ।

उपन्यासमा लादिप्मा नामक मुख्य पात्र छ, जसलाई लेखकले आफ्नो हृदयले खिपेर तयार पारेकी छन् । लेखकका अनुसार उक्त पात्र अरू कोही नभएर स्वयम् लेखक हुन् । आफ्नै जीवनका तीतामीठा क्षण, घटनालाई अनुभूतिको गहिराइबाट पस्किएकीले पनि होला प्याउली पढिरहँदा म लादिप्मासँगै कतै रुँदै कतै खित्खिताउँदै कतै चोटहरूले दुख्दै कतै मलम लगाउँदै हिँडिरहेँ । यस उपन्यासमा लादिप्माको व्यक्तिगत, पारिवारिक प्रसङ्गका साथै सामाजिक र भौगोलिक वृत्तान्त छ ।

किशोरी लादिप्माको प्रेम र विवाह जसलाई अपरिपक्व निर्णय भन्न सकिन्छ, सँगै अन्तरजातीय सम्बन्धले ल्याएको आँधीको कथा छ । प्रेममा समर्पित लादिप्माको जीवन, समयक्रमसँगै अगाडि बढ्दै जाँदा उसले भोग्नुपरेको हैरानी र सास्तीको कथा मात्र नभई उसको एकल जीवन बाँच्ने कठोर निर्णयले मलाई झङ्कृत पार्‍यो । नेपालमा आज पनि महिलाको स्वतन्त्र जीवन बाँच्ने निर्णयप्रति अनुदार रहेको समाज विद्यमान छ । यस्तो परिप्रेक्ष्यमा प्याउलीको लादिप्माले पितृसत्तालाई गतिलो झापड दिएको छ ।

मैले यो उपन्यासलाई तीन भागमा राखेर पर्गेल्ने प्रयत्न गरेँ ।

१. महिलावादमा कथाको सन्दर्भमा । २. लैङ्गिकता र रूढिवादी परम्पराको अवसान । ३. (अ)सामाजिक व्यवस्थाविरुद्धको बुलन्द आवाज

१. महिलावादमा कथाको सन्दर्भ

जम्मा २७ वटा शीर्षकमा रहेको यस उपन्यासको हरेक शीर्षकलाई म केस्रा–केस्रा केलाउनुभन्दा पनि यसको सारलाई मात्र यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु ।

सरसरती हेर्दा, उपन्यास साधारण देखिन्छ, नितान्त व्यक्तिगत जीवनको बारेमा मात्र कथा भनेजस्तो तर उपन्यासले नजानी महिलाका राजनीतिक अवस्था, आर्थिक स्थिति, शैक्षिक वातावरण, सामाजिक असमानता जस्ता कुराहरूको वकालत गरेको छ । साधारण एउटी महिलाले भोग्नुपरेको सामाजिक, पारिवारिक असमानताको बन्धनलाई सदाको लागि समाप्त गर्न अदालतको प्राङ्गणमा उभिएपछि कथा बढेको छ ।

प्याउली उपन्यास लेखकको आफ्नै जीवनमा घटेको घटनामा आधारित कथा हो, जो बितेको घटनाक्रमको स्मरण सविस्तार बढेर अन्त्य भएको छ । यसभित्रका पात्रहरू राई माइला र श्रीमती राई माइली, उनीहरूको छोरा जेठा छोरा चन्द्र सर, सुब्बेनी, सुब्बा साइला, भद्रपुरको पृथ्वीनगरको स्कुलडाँडामा आछामबाट बसाइँ सरी आएका निरौलाका परिवार र हङकङमा लादिप्मासँग म्यानच्योर च्याटे फ्रेन्च रेस्टुराँमा उनीसँगै काम गर्ने उनका साथीहरू कल्पना, आशा, जानुका आदि एकदमै साधारण छन् । प्रमुख पात्र लादिप्मासँगै उभिन आइपुग्ने सहपात्र प्रशान्त र उपमिहाङ छन् ।

महिलावादीहरूका अनुसार आजसम्म जति पनि महिलाहरूका बारेमा लेखिएका सामाजिक मान्यताहरू, धार्मिक आस्थाहरू, शैक्षिक संरचना, समाज, परिवार, सत्ता, कानुनहरूका जे जति भावहरू, कुराहरू स्वयम् महिलाहरूका नभएर पुरुषहरूले व्याख्या–विश्लेषण गरेका पुरुषका विचारहरू हुन्, त्यसैले अबका महिलाहरूले हामी के हौँ ? भन्ने कुरा महिला स्वयम्ले नै भन्ने र लेख्दै जाने हो भन्छन् । कसैको दबाबमा नआई आफ्नो स्वतन्त्र विचार राख्न सक्छौँ । त्यसैले प्याउली उपन्यासमा बालिका बान्तावाले आफ्नै जीवनमा आधारित घटनाक्रमलाई कथाको रूप दिएकोले उनी एउटी सशक्त महिलावादी लेखक हुन् ।

हाम्रो जस्तो खुम्चिएको समाजमा यसरी महिलाले आफ्नो कुरा निर्धक्क राख्न सक्नु साहसको कुरा हो । तर अब यो कथा बालिकाका व्यक्तिगत कथा मात्र नभएर ती सम्पूर्ण महिला जो देश अथवा विदेशमा छन्, जो आफ्नो परिवारको पालनपोषणको निम्ति समर्पित छन्, ती सम्पूर्ण कर्मठ नेपाली महिलाहरूका कथा हो । सबैभन्दा महत्त्वपूर्ण, उपन्यासकी पात्र लादिप्माको पहिलो लोग्ने प्रशान्त एक हिन्दु पुरुष र दोस्रो किराती पुरुष उपमिहाङसँगको वैवाहिक जीवनमा झेल्नुपरेको पीरमर्का र धोकाले, नेपाली जनजाति महिलाहरू कसरी नेपाली हिन्दु संस्कार, सामाजिक परम्परा र संस्कृतिको चपेटामा परेर आफ्नो अस्तित्व र स्वतन्त्रतामाथि खतरा मोल्दै बाँच्न विवश छन् देखाएको छ ।

यो उपन्यास किन पनि जनजाति महिलाहरूका कथा हुन् भने बालिका बान्तवा आफैँ पनि किरात राई समुदायकी हुन् । उनलाई यसो भनेर सम्पूर्ण सामूहिकतामाथि आक्षेप र सवाल गरिएको भने पक्कै होइन, बरु केही त्यस्ता सवालहरू छन् जुन उपन्यासको कथानकताले तानेर हाम्रो सामु ल्याइपुर्‍याएको छ । केही त्यस्ता तीता यथार्थ र वास्तविकता परिस्थितिहरू हाम्रो सामु देखा पर्छन् जसलाई हामी नदेखेजस्तो गर्न सक्दैनौँ । तसर्थ यो सवाल सम्पूर्ण आफू र सामूहिकतामाथि गरिएको हो ।

प्याउली उपन्यासकी मुख्य पात्र लादिप्माले परस्त्रीगमन गर्ने लोग्ने प्रशान्तसँग कुनै सम्झौता नगरी चटक्कै छोडेर जीवनसंघर्षमा एक्लै होमिएकी छन् जसले छोरीको रेखदेखको लागि आफ्ना रहरलाग्दा उमेर विदेशी भूमिमा लगानी गरेकी छन् । जीवन बाँच्दै जाने क्रममा उपमिहाङजस्तो सन्कीसँग त झनै सम्झौता गर्ने कुरा हुँदैन । फलस्वरूप लादिप्मा एक्लै अदालत पुगेर सम्बन्धविच्छेद गरेको दृश्य उपन्यासमा पढ्न पाइन्छ । उपन्यासमा लादिप्मालाई एक सशक्त, आत्माभिमानी महिलाको रूपमा चरित्रचित्रण गरिएको छ ।

२. लैङ्गिकता र रूढिवादी परम्पराको अवसान

उपन्यासको फ्ल्यासब्याकमा तत्कालीन पञ्चायती व्यवस्थाको वर्णन छ । त्यति नै बेला राई माइला भोजपुरको बरुटोलबाट भद्रपुरको पृथ्वीनगरको स्कुलडाँडा, नयाँ ठाउँमा, नयाँ परिवेशमा बसाइँ सरेर आएका हुन्छन् । आफ्ना सन्तानलाई शिक्षादीक्षा दिलाएर, सपनाले घच्घच्याएर, उज्ज्वल भविष्यको सपना बोकेर आएका राई माइलाले छोराछोरीलाई स्कुल भर्ना गरिदिन्छन् । तर हाम्रो नेपाली समाजमा स्कुलमा विद्यार्थीहरूलाई प्रजनन तथा यौन शिक्षा राम्ररी दिन नसकेको परिणामको कारणले आज पनि ग्रामीण क्षेत्रका बालबालिकाहरू कलिलो उमेरमा नै भागेर विवाह गरेका पाइन्छन् ।

त्यसो त नेपालमा वि.सं. २००९ सालदेखि नै स्वास्थ्य तथा पोषण कार्यक्रम ल्याएर विद्यालयहरूमा बालबालिकालाई प्रजनन तथा यौन शिक्षा दिन थालिएको पाए पनि सामाजिक मूल्यमान्यता, लैङ्गिक भेदभाव जस्तो कि महिलाहरूको मासिक धर्मबारे कुरा गर्न अप्ठेरो मान्ने, ग्रामीण क्षेत्रमा कम पहुँच र शिक्षकहरूले पनि प्रजनन तथा यौन शिक्षालाई शरमको विषय मानी उपेक्षित गरेकोले बालबालिकामा प्रजनन तथा यौनसम्बन्धी ज्ञान नहुँदा लादिप्माको जस्तो अवस्था व्यहोर्नुपरेको स्थिति विद्यमान छ । जसले गर्दा छोरीलाई गहिरो असर पर्छ भन्ने कुरा प्याउली उपन्यासमा लादिप्माको भोगाइले वर्णन गरिएको छ । प्रशान्तको पनि अवस्था त्यस्तै छ । उसले आफ्नी श्रीमती र छोरीको भरणपोषण गर्न सकेको छैन । तर समाजमा बाहुनले राइनी ल्याएको क्रान्तिकारी विचार सम्झेर बसेको देखिन्छ । यसले गर्दा नेपाली समाजमा कस्तो असर पर्न सक्छ भन्नेतिर ध्यान गएको छैन । सही समयमा बालबालिकालाई आफ्नो प्रजनन तथा यौनसम्बन्धी ज्ञान दिन अपरिहार्य छ भन्ने महत्त्वपूर्ण सन्देश प्याउली उपन्यास मार्फत लिन सकिन्छ ।

अर्को कुरा आदिवासी किराती समुदायमा आज पनि छोरा र छोरी भनेर छुट्याइएको इतिहास छैन भनेर भन्ने गरेका पाइन्छन् तर 'प्राचीन भारतमा किरातीहरू' नामक जी.पी. सिंहको पुस्तकमा कसरी किराती महिलाहरूलाई किराती राज्यसत्ताको संरक्षणको लागि दासीको रूपमा भेट दिई आफ्नो राज्यको सम्प्रभुता जोगाइएको थियो भन्ने दस्तावेज पढ्न पाइन्छ भने माधवी उपन्यासमा ययातिको पुत्री माधवीलाई कसरी अश्व घोडाको पूर्तिका लागि प्रयोग गरिएको थियो भन्ने छ । त्यही भएर उपमिहाङजस्तो किराती पुरुष अन्य हिन्दु पुरुषभन्दा फरक नभएको होला । तर अबको माधवीहरू ययातिको आज्ञा शिरोपर गरेर बस्नेवाला छैनन् । आफ्नो लागि आफैँ निर्णय गर्न सक्षम छन् ।

हिजोदेखि आजसम्मको यस प्रकारको लैङ्गिक भिन्नतामा खासै फरक छैन । नेपालको पारिवारिक, सांस्कृतिक र सामाजिक संरचना हिन्दु धर्मको मर्मअनुरूप नै आजउपरान्त रहेको हामी सबैलाई थाहा छ । धर्मको अनेक चाल हुन्छ तर ठोस उत्तर हुँदैन । प्याउली उपन्यासमार्फत लेखक आफ्नो स्वतन्त्र विचार, बाँच्न पाउने अधिकारको व्यक्तिगत गरिमाभन्दा पर केही छैन भन्ने हुङ्कारको साथ उभिएकी छन् । लैङ्गिकता यो उपन्यासको अर्को महत्त्वपूर्ण विशेषता हो ।

३. (अ)सामाजिक व्यवस्थाविरुद्धको बुलन्द आवाज

आज पनि जातीय विभेद र पितृसत्ता, शक्तिको प्रचुर असर रहेकोले उपमिहाङजस्तो किराती पुरुष पात्रले आफूले विवाह गरेकी दोस्रो पत्नीको आफू पनि दोस्रो लोग्ने भएको कुरा बिर्सेर लघुताभासकै कारण आफ्नो पत्नी लादिप्मालाई अपमान गरेको देखिन्छ । अर्को उनको स्वार्थ हङकङ आउन पाउने सम्भावना जब लम्बिएर जान्छ, नैराश्यताले गलेको उपमिहाङ लादिप्मालाई फेसबुकमा अनेक कमेन्ट गर्ने, लादिप्माको मेसेन्जर कल नउठाउने, हुँदा–हुँदा फेसबुकमा ब्लक गर्ने जस्ता अशोभनीय हर्कत गर्छन् ।

यसले के देखाउँछ भने आज पनि पुरुषको भन्दा महिलाको इज्जतलाई बढी महत्त्वका साथ हेरिन्छ भन्ने मानसिकता समाजमा विद्यमान छ भन्ने हो । महिलाले दोस्रो विवाह गर्नु भनेको शरम लज्जाका विषय हुन् भन्ने सोच जीवित रहेकोले नै उपमिहाङले लादिप्मालाई खुट्टा भए जुत्ता कति कति, भुस भए उड्छ, चामल भए रहन्छ जस्ता शब्द प्रयोग गरेको पाइन्छ । तर यो २१ औँ शताब्दीमा लादिप्माजस्तो आत्मनिर्भर महिलाको स्वाभिमान र गौरवलाई नजरअन्दाज गर्न खोज्नु भनेको उपमिहाङले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नुसरह हो ।

एउटा कुरा यस उपन्यासमा के स्पष्ट छ भने अबका महिलाहरू आफ्नो अपमान सहेर कसैसँग, चाहे त्यो पति नै किन नहोस्, बस्नेवाला छैनन् । आफ्नो अस्तित्व, आफ्नो स्वाभिमान र गौरवलाई कुल्चेर ऊ कसैसँग सम्झौता गरी बस्दिनँ । स्वतन्त्र भई बाँच्न पाउने अधिकारको ज्ञान र चेतना उसमा आइसकेको छ भन्ने प्रमाण लादिप्माको विश्वास, सम्बन्ध, प्रेम टुटेको हो आत्माविश्वास र सम्भावना होइन भन्ने भनाइले पुष्टि गर्छ । त्यसैले अबको समयमा हाम्रा छोरी, दिदीबहिनी, आमा, माइजू, काकीलाई हाम्रो छोराहरूले, दाजुभाइ, बुबा, मामा, काकाहरूले आदर, सम्मानसहित उचित व्यवहार गर्न जरुरी छ ।

यति भन्दाभन्दै पनि कहिलेकाहीँ महिलाहरूका मुद्दाहरू उठाउँदै गर्दा, आफ्ना कथाहरू भन्दै गर्दा हामी महिलाहरू ज्यादै नै महिलामुखी र पक्षपाती हुन पुग्छौँजस्तो लाग्छ । यो मेरो आफ्नै पनि अनुभव हो । उपन्यास पढ्दै गर्दा मलाई कताकता त्यस्तै आभास भयो । पितृसत्ताको सामाजिक व्यवस्था र संस्कारको ढालले सुरक्षित भएका पुरुषमाथि महिलाले मूल्याङ्कन गर्ने पनि यसरी नै हो । त्यसैले लेखकले यतिसम्म लेख्नु स्वाभाविक छ । जल्नेलाई पो थाहा हुन्छ पोल्दा कतिसम्म पीडा र छटपटी हुन्छ भन्ने । यद्यपि अब आउने कृतिहरूमा यस्तो कमीकमजोरी नरहोस् भन्ने मेरो आग्रह र सुझाव छ । हामी महिला पुरुषले एकअर्कालाई दोषारोपण गरेर मात्रै पनि समाज उन्नत बन्दैन । समाजमा महिला र पुरुष एकअर्काका परिपूरक हुन् । महिला पुरुष दुवै पितृसत्ताबाट प्रताडित छन् भन्ने सत्यलाई बुझेर एकअर्कालाई साथ सहयोग दिँदै हिजोको असमानतालाई परिमार्जित गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानुपर्छ ।

प्याउली उपन्यासमा रहेको अर्को बलियो पक्ष भनेको लेखकले आफ्नो मातृभाषा बान्तावा भाषाको कुशल प्रयोग गरेकी छन् । म स्वयम् बान्तवाभाषी भएकीले उपन्यासमा प्रयोग गरिएका बान्तवा भाषाका संवाद बुझ्नलाई अप्ठ्यारो भएन तर बान्तवा भाषा नबुझ्ने पाठकलाई केही असहजता हुन्छजस्तो लाग्यो । त्यसैले दोस्रो संस्करणमा बान्तवा भाषा प्रयोग गरिएको ठाउँमा कोष्ठभित्र नेपाली भाषामा पनि बान्तवा भाषाको अर्थ, नेपाली भाषामा राखिदिए सुनमा सुगन्ध हुने थियो ।

अन्त्यमा, बालिका बान्तवाको यो पहिलो कृति प्याउलीको लेखनमा भएको सरलता र लेखकको स्पष्ट अभिव्यक्ति देख्दा लेखकप्रति सम्मान जागेको छ । उहाँको आगामी लेखनयात्रा उज्ज्वल रहोस् । शुभकामना ।

(दीपा एवाई, हालः हङकङ)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट