काठमाडौँ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको जोखिम देखिएको छ । रसुवा, नुवाकोट लगायतका प्रभावित स्थानीय तहमा रुघाखोकी तथा झाडापखालाको सङ्क्रमण फैलन थालेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बिरामी संख्याको हिसाबले ज्वरो तथा रुघाखोकीका बिरामी सबैभन्दा धेरै देखिएका छन्, जुन भदौ २३ गते उच्च विन्दु अर्थात् ६६ जना पुगेको थियो । सामान्य ज्वरोका बिरामी भदौ २१ गते सबैभन्दा बढी २० जना पुगेका थिए । झाडापखालाका बिरामी भदौ १८ र १९ गते ९–९ जनासम्म पुगेका थिए । बिमिरासहितको ज्वरोका बिरामी भदौ १७, १८ र १९ गते लगातार ४–४ जना भेटिएका थिए ।
अद्यावधिक विवरण अनुसार रसुवा जिल्लाको होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा गरिएको लक्षण आधारित निगरानीबाट पछिल्लो १० दिनमा ज्वरो र ज्वरोसहित खोकीका बिरामीको संख्या उच्च पाइएको छ । भदौ २१ देखि ३० सम्मको तथ्याङ्क अनुसार ज्वरोसहित खोकीका बिरामी २२ जनासम्म दर्ता भएका छन् । सो अवधिमा झाडापखालाका बिरामी ३ जनासम्म मात्र फेला परेका थिए । ज्वरोसहित डाबर देखिएका बिरामी अधिकतम २ जनासम्म पुष्टि भएका छन् ।
रसुवाका विभिन्न स्थानमा सञ्चालन गरिएका ९ वटा होल्डिङ सेन्टरमा २०४ जनालाई राखिएको छ । जस अनुसार उत्तरगया–५ स्थित शिवालय आधारभूत विद्यालयमा ४७ जना, भीमसेनस्थान प्रा.वि.मा ३७ जना, उत्तरगया–१ को गणेश आवासीय विद्यालयमा १९ जना र उत्तरगया–५ को निलकण्ठ मा.वि.मा २० जना छन् ।
यस्तै, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत गोसाइँकुण्ड–५ स्थित कोमेन श्यामे वाङफेल मा.वि.मा ५४ जना र गोसाइँकुण्ड–३ को लिगलिङ कानिङ छोलिङ गुम्बामा २७ जना राखिएको छ ।
होल्डिङ सेन्टरमा राखिएका कुल २०४ जनामध्ये १०६ जना पुरुष र ९८ जना महिला छन् । उमेर समूहका आधारमा ५ वर्षमुनिका १५ जना, १० देखि १९ वर्षसम्मका ४७ जना र ६० वर्षभन्दा माथिका २० जना छन् । यस्तै, होल्डिङ सेन्टरमा १ जना गर्भवती, १ जना सुत्केरी र १ जना अपाङ्गता भएका व्यक्तिसमेत छन् ।
यस्तै, नुवाकोटमा सामान्य ज्वरो र ज्वरोसँगै खोकीका बिरामी देखिएका छन् । भदौ २२ गते ज्वरोका १३ र ज्वरो तथा खोकीका १५ जना बिरामी फेला परेका थिए, जुन यो अवधिभरिकै सबैभन्दा उच्च सङ्ख्या हो । यस्तै, झाडापखाला र पेटसम्बन्धी समस्या र डाबरसहितको ज्वरोका बिरामीहरू पनि सो अवधिमा फेला परेका छन् ।
‘प्रकोप तथा महामारीको सङ्केत देखिएको छैन’
स्वास्थ्य मन्त्रालयले हालसम्म प्रभावित क्षेत्रमा प्रकोप तथा महामारीको सङ्केत नदेखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता यशोदा अर्यालले नसर्ने रोगको रोकथाममा मन्त्रालय लागिपरेको भन्दै अहिलेसम्म कुनै प्रकोप तथा महामारीको सङ्केत नदेखिएको बताइन् ।
अर्यालका अनुसार प्रभावित क्षेत्रमा दैनिक रूपमा ज्वरो तथा झाडापखालाजन्य केसहरूको अनुगमन भइरहेको छ । शङ्कास्पद केसहरुको प्रयोगशाला जाँच गरी सङ्क्रमण यकिन गर्ने र उपचार गर्ने कार्य भइरहेको उनको भनाइ छ ।
होल्डिङ सेन्टर तथा समुदायहरूमा इल्फ्लुएन्जा, मलेरिया तथा डेंगुका लागि आरडीटी परीक्षण भइरहेको छ । अर्यालका अनुसार प्रभावित २५ जना उपचाररत छन् । हालसम्म सात हजार ७५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । हाल ६ वटा आकस्मिक चिकित्सा टोली प्रभावित क्षेत्रमा खटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अर्यालले भनिन्, ‘होल्डिङ सेन्टर, अस्पताल र प्रभावित समुदायमा मनोचिकित्सक, क्लिनिकल मनोविद् र मनोसामाजिक परामर्शकर्ता सहितको टोली परिचालन गरी बालबालिका, किशोरकिशोरी तथा प्रभावित परिवारलाई लक्षित गरेर समूह परामर्श र उपचारात्मक मनोपरामर्श गतिविधि सञ्चालन भइरहेको छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा १३७ जना जनशक्ति परिचालन गरिएको छ । हालसम्म ९ हजार आठ सय ५८ जनालाई मनोपरामर्श प्रदान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार रसुवामा २१ हजार ६ सय डोज खोपमध्ये १२ हजार ९९९ जना र नुवाकोटमा ८० हजार ५२३ डोज खोपमध्ये ३४ हजार २४१ जनाले हैजा विरुद्धको खोप प्राप्त गरी लाभान्वित भएका छन् ।
यस्तै, धनुष्टङ्कार र भ्यागुते रोग विरुद्धको खोप रसुवामा ७ हजार ६८० डोज र नुवाकोटमा ८ हजार नौ सय डोज ढुवानी गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij