Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘राम्रो कलाकार बनेर दर्शकको मनमा बस्नु छ’

‘राम्रो कलाकार बनेर दर्शकको मनमा बस्नु छ’

सनिशा भट्टराई गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै फिल्ममा भित्रिएकी उनको डेब्यु फिल्म हिट भयो । उनी रातारात ‘स्टार’ बनिन् । त्यसो त ‘१२ गाउँ’मा उनको भूमिका छोटो तर सशक्त थियो । जसलाई दर्शकले रुचाए ।

फिल्मी पारिवारिक पृष्ठभूमि बाहिरकी उनी रहर र लगावले यो क्षेत्रमा होमिएकी हुन् । ‘१२ गाउँ’ लगत्तै उनी ‘नरसिंहाः अवतार’मा अभिनय गर्न सफल रहिन् । यतिवेला उनी केही फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेकी छन् । डेब्यु फिल्मबाटै सफलता र चर्चा पाउन सफल उनी डेब्युअघि भन्दा अहिले बढी चुनौती महसुस गरिरहेकी छन् । फिल्म डेब्यु र त्यसपछिको चुनौती विषयमा नवअभिनेत्री भट्टराईलाई रातोपाटीले राखेका केही प्रश्न यस्ता छन्ः

समाजमा डाक्टर, इन्जिनियर, पाइलट लगायत पेसा प्रतिष्ठित मानिन्छ । मानिसहरू यही पेसामा आउन खोज्छन् । तपाईंले किन फिल्म रोज्नुभयो ? – मलाई त यो क्षेत्र रहरले नै तानेको हो । सुरुमा अभिनेत्री नै बन्छु भन्ने सोच त थिएन, पढ्दै थिएँ । एउटा गीतमा अभिनय गर्ने अवसर मिल्यो । त्यसलगत्तै फिल्म ‘१२ गाउँ’को अफर आयो । यो फिल्मको चर्चा र सफलताले फिल्मबाट अझ राम्रो हुने देखेर यसमै होमिएँ ।

पहिलो फिल्म नै चल्यो । पहिलो फिल्ममा सबै जनाले रुचाइसकेपछि मलाई यही क्षेत्रमा केही राम्रो गर्न सक्छु भन्ने लाग्यो । एक किसिमले भन्ने हो भने मलाई यसको लत लागे जस्तो भयो । दुई फिल्म गर्दा त धेरै राम्रो गर्न सक्छु भन्ने लागेर आयो । यो मेरो आफ्नो रोजाइ हो । अहिले म यो क्षेत्रमा रमाइरहेकी छु, मेरो परिवारलाई खुसी मिलेको छ भने मैले यही नै गर्नुपर्‍यो नि !

त्यो हो भने कुनै फिल्म, कलाकार वा रोल मोडलबाट प्रेरित हुनुभएको होइन ? – त्यस्तो ठ्याक्कै त होइन । बच्चादेखि नै फिल्महरू हेर्दै हुर्किएकी हुँ । कलाकारहरूलाई पर्दामा देख्दा ‘म पनि त्यहाँ पुग्न पाए हुन्थ्यो’ भन्ने एक किसिमको भावना सानैदेखि मनमा हुन्थ्यो । मलाई नाच्न–गाउनमा सानैदेखि रुचि थियो । मनोरञ्जनको क्षेत्रमा अलि सक्रिय भएको हिसाबले पनि कताकता फिल्मको लोभ लुकेको रहेछ । सबै कलाकारहरूबाट केही न केही प्रेरणा त मिलिरहेकै हुन्छ ।

भित्रिनु पहिले बाहिरबाट हेर्दा फिल्म क्षेत्र कस्तो लाग्थ्यो ? भित्रिएपछि कस्तो पाउनुभयो ? – बाहिरबाट हेर्दा राम्रै लाग्थ्यो । यसको चर्चा देख्दा त ‘कस्तो होला है !’ भन्ने कौतुहलता हुन्थ्यो । तर पनि समाजमा यो क्षेत्रबारे खासै राम्रो धारणा थिएन । विभिन्न नकारात्मक टीकाटिप्पणी हुन्थे । त्यसले यो क्षेत्र राम्रो नराम्रो केही मूल्याङ्कन गर्न सकेकी थिइनँ । जब फिल्ममा भित्रिएँ, बाहिरको हल्ला मिथ्या लाग्यो । सबै कुरा आफूमा भर पर्ने रहेछ । जसरी आफूलाई बनायो, त्यसरी नै बनिने हो । बाहिरबाट सोचेको भन्दा यो क्षेत्र एकदमै फरक र भिन्न पाएँ ।

आफ्नो कमीकमजोरीलाई नियालेर जति सक्दो राम्रो काम र अभिनय गर्ने प्रयास गर्छु । आगामी दिनहरूमा अझै राम्रो बनाउने कोसिस गर्छु । तपाईंले कलाकारिता रोज्नुको कारण पैसा, चर्चा, सन्तुष्टि कि कलाकारिताप्रतिको हुटहुटी ? – कलाकारितामा लागेपछि चर्चा एकपटक अवश्य मिल्छ । पैसा पनि जीवनयापनका लागि आवश्यक कुरा नै हो । तर मैले यो क्षेत्र पैसाका लागि रोजेकी होइन ।

यो क्षेत्रमा भित्रिएपछि कलाको लत लाग्यो । त्यसपछि आफ्नो कामलाई नै राम्रो बनाउने, कामले नै चिनाउने र राम्रो चर्चा कमाउने हुटहुटी हुँदो रहेछ । दर्शकहरूले मलाई एक राम्रो कलाकारको रूपमा चिनिदिउन्, मेरो अभिनयको प्रशंसा गरिदिउन्, मेरो चर्चा होस् भन्ने लाग्छ । अन्य कुरोभन्दा पनि म कलाकारको रूपमा चिनिन चाहन्छु ।

त्यसो भए कलाकारिताको लागि कुन हदसम्म जान तयार हुनुहुन्छ ? – पहिलो त म अहिलेभन्दा बढी आफूलाई निखार्छु । आफ्नो कमीकमजोरीलाई नियालेर जति सक्दो राम्रो काम र अभिनय गर्ने प्रयास गर्छु । आगामी दिनहरूमा अझै राम्रो बनाउने कोसिस गर्छु । अभिनयमा, नृत्यमा राम्रो गर्छु, नजानेका कुराहरू सिक्छु । मैले अभिनयका लागि जाने हद भनेको यही हो ।

फिल्ममा डेब्यु गर्न कत्ति दुःख गर्नुपर्‍यो ? – एक किसिमले भन्ने हो भने म भाग्यमानी हुँ । किनभने अभिनयमा सहजै डेब्यु गर्न पाएँ । त्यस्तो केही सङ्घर्ष गर्नु परेन । गीतमा काम गर्दागर्दै सामाजिक सञ्जालमा राखेका फोटो र भिडियोहरूबाटै मलाई फिल्मको अफर आयो । ट्राई गरौँ भनेर होमिएँ । अहिले फिल्मका अफरहरू धेरै छन् । छान्न चुनौती भइरहेको छ ।

फिल्म अभिनयका लागि तयारी के–के गर्नुपर्‍यो ? – तयारीका लागि मलाई समय मिलेन । अहिलेसम्म दुईवटा फिल्ममा अभिनय गरिसकेपछि तेस्रो फिल्म गर्नुअगाडि मसँग केही समय छ । यो समयलाई मैले कक्षा लिएर सदुपयोग गरिरहेकी छु । अब सबै तयारी गर्छु ।

पहिलो फिल्मको पहिलो टेकको अनुभव नि ? – अनुभव एकदमै राम्रो रह्यो । मलाई त केही पनि थाहा थिएन, फिल्ममा कसरी अभिनय गर्ने भन्नेमा ममा ‘जिरो नलेज’ थियो । त्यतिवेलासम्म फिल्मको लाइभ सुटिङ पनि देखेकी थिइनँ । तर केही भिडियो र विज्ञापनमा काम गरेको अनुभवले क्यामेरा फेस गर्न, बोल्न र भावना व्यक्त गर्न त्यति धेरै गाह्रो भएन ।

फिल्मका लागि म त ‘र’ नै थिएँ, कुनै कक्षा लिएकी थिइनँ । पहिलो फिल्म ‘१२ गाउँ’ । फिल्म अभिनेता विराज भट्ट सरको थियो भने अभिनय पनि उहाँसँगै थियो । उहाँले एकदमै सहयोग र हौसला दिनुभयो । राम्रो मार्गनिर्देशक पाएकाले असहज परिस्थितिको सामना गर्नु परेन ।

पहिलो टेकमा डर लागेन ? – त्यसको त कुरै नगरौँ । डेब्यु, त्यसमाथि पनि केही थाहा नभएको विषयमा । मैले अभिनय कक्षा लिएको भए केही आइडिया हुन्थ्यो होला । कताबाट के गर्दा राम्रो हुन्छ, कसरी गर्ने भन्ने कुरामा गाह्रो भयो, तर समग्रमा त्यस्तो धेरै गाह्रो भएन ।

अब पो चुनौती धेरै रहेछ । एक त टिक्नुपर्‍यो, अर्को बिक्नुपर्‍यो । राम्रो कथा छान्न सक्नुपर्‍यो, कस्तो टिमसँग काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण भयो । अहिलेसम्मको अनुभवको आधारमा के रहेछ फिल्म क्षेत्र ? – फिल्म क्षेत्रका विषयमा बाहिर सङ्घर्षका धेरै कथाहरू सुनिन्छ, जस्तै वर्षौँ धाएर बल्ल अवसर पाएको, थिएटर गरेर आएको, पैसा लगाएर पनि चर्चित बन्न नसकेको आदि । यी कुराले एक किसिमको दबाब महसुस गराउँछ । मेरो पनि मन ढक्क फुलेको थियो । तर, त्यस्तो गाह्रो भएन । मैले सहजै डेब्यु गर्न पाएँ । अफर आएर, सबै कुरा मिलेर नै फिल्म गरेकी हुँ । त्यसैले म आफूलाई भाग्यशाली महसुस गर्छु ।

अहिले आएर पो फिल्मको सङ्घर्ष के हो भन्ने कुरा थाहा हुँदै छ । डेब्यु फिल्म राम्रो भयो, हिट भयो । अब त्यो स्तरलाई कायम राख्दै अझै राम्रो काम देखाउनुपर्ने चुनौती थुप्रै देखेकी छु । अब काम छनोट गर्न र आफूलाई प्रमाणित गर्नचाहिँ गाह्रो हुँदो रहेछ भन्ने महसुस भएको छ ।

त्यसो भए डेब्यु गर्दैगर्दा भन्दा गरेपछि चुनौती धेरै रहेछ ? – हो । अब पो चुनौती धेरै रहेछ । एक त टिक्नुपर्‍यो, अर्को बिक्नुपर्‍यो । राम्रो कथा छान्न सक्नुपर्‍यो, कस्तो टिमसँग काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण भयो । पहिलो फिल्म राम्रो भएपछि अब आउनेमा कसरी राम्रो दिने भन्ने दबाब हुँदो रहेछ । डेब्यु गर्नुभन्दा अबको समय बढी चुनौतीपूर्ण लागेको छ । प्रतिस्पर्धाको जमाना छ, त्यसमाथि आफूलाई स्थापित गर्न गाह्रो छ । कहिलेकाहीँ कुरा चलेको काम पनि अगाडि नबढ्ने, अरूले नै फुत्काउने अनुभव गरिसकेँ । यी सबै कुराले यो क्षेत्र डिफिकल्ट रहेछ भन्ने महसुस गराउँछ ।

प्रतिस्पर्धा कस्तो छ ? – प्रतिस्पर्धाको कुरै नगरौँ, एकदमै छ । मसँगसँगै धेरै नयाँ कलाकारहरू डेब्यु गरिरहनुभएको छ । उहाँहरूसँगको प्रतिस्पर्धा त स्वाभाविक हो । हामीभन्दा अघिल्लो पुस्ताका कलाकारहरू पनि अहिले सक्रिय हुनुहुन्छ । उहाँहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसैले नयाँ आएका हामीलाई अभिनयमा टिक्नु र बिक्नु भनेको फलामको चिउरा चपाए सरह हो ।

अहिलेसम्मको अनुभवले के भन्छ, फिल्ममा अवसर पाउन प्रतिभा चाहिन्छ कि सम्बन्ध र अन्य ? – प्रतिभा भएकाले अवसर त अवश्य पाउँछ, ढिलो–चाँडो मात्र हो । तर कतिन्जेल यो राजनीति र सम्बन्ध टिक्ला र ? जस्तो लाग्छ । हुन त यहाँ सम्बन्धले धेरै म्याटर गर्दो रहेछ । भर्खर आएको र कुनै पारिवारिक पृष्ठभूमि नभएको मान्छेलाई एकदमै गाह्रो छ । एक्लै बढ्नुपर्दा, मान्छे चिन्नुपर्दा र सबै कुरा आफैँले गर्नुपर्दा गाह्रो हुँदो रहेछ । कहिलेकाहीँ मेरो पनि कोही यो क्षेत्रमा भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

कलाकारितामा सफलता भनेको राम्रो फिल्म गरेर, राम्रो कथा छानेर दर्शकले रुचाइदिनु नै हो अबको लक्ष्य के छ ? – अबको लक्ष्य जेजस्तो बाधा आए पनि अगाडि बढेर राम्रो कलाकार बन्नु हो । आफ्नो काममार्फत आफूलाई प्रमाणित गर्नु छ । दर्शकको मनमा बस्नु छ ।

फिल्ममा छाइरहन टिक्न र बिक्न जरुरी छ । टिक्ने र बिक्ने कुनै रणनीति बनाउनुभएको छ ? – त्यस्तो केही छैन । आफ्नो कामले गर्दा टिक्ने हो र त्यही काम देखाएर बिक्ने हो भन्ने मेरो विश्वास छ । राम्रो काम गर्दै जानेछु, राम्रा प्रोजेक्टहरू गर्ने कोसिस गर्नेछु । धैर्यचाहिँ यो क्षेत्रमा एकदमै आवश्यक रहेछ । म उचित समय कुर्न सक्छु ।

तपाईंको विचारमा सफलताको परिभाषा के हो ? – कलाकारितामा सफलता भनेको राम्रो फिल्म गरेर, राम्रो कथा छानेर दर्शकले रुचाइदिनु नै हो । रेगुलर काम पाउनु, गरेको कामको चर्चा हुनु, सबैको मनमा बस्न सक्नु नै सफलता हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट