Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

श्रवणकुमार थापा बयानका लागि विशेष अदालत उपस्थित

श्रवणकुमार थापा बयानका लागि विशेष अदालत उपस्थित


काठमाडौँ : स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा बयानका लागि विशेष अदालत उपस्थित भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बयान भइरहेको छ । बयान सकिए लगतै आजै थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि थुनामा पठाउने या धरौटीमा छाड्ने मध्ये एउटा आदेश हुनेछ ।

स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा थापासहित १४ जनाविरुद्ध गत कात्तिक २ गते भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । ठेक्का प्रक्रियामा लागत अनुमान तयार गर्दादेखि भुक्तानी दिँदासम्म मिलेमतो गरी राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोप लागेको थियो ।

ठेक्का प्राप्त गर्ने म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रालिको संस्थापक सुन्दर भुसाल संस्थापक रहेको अर्को कम्पनी शुभ बायोमेडिकल कन्सर्न प्रालिबाट दररेट मगाई त्यसैलाई आधार मानेर लागत अनुमान तयार गरिएको, जुन अस्वाभाविक रूपमा बढी थियो । स्वीकृत लागत अनुमान करबाहेक १२ करोड ७५ लाख थियो, जबकि आपूर्तिकर्ताले १२ करोड ५५ लाखमा ठेक्का कबोल गरेको थियो । 

उत्पादक कम्पनीलाई भुक्तानी हुने कूल मूल्य करिब ६ करोड ८५ लाख मात्र रहेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दोस्रो चरणको सामान तोकिएको समय (मिति २०८१ असार १० गते) भन्दा करिब ११ हप्ता ढिलो आउँदा पनि ठेक्काको शर्तबमोजिमको ६९ लाख २ हजार ५ सय क्षतिपूर्ति रकम राज्यकोषमा दाखिला नगरी नोक्सानी गराएको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij