Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौंः इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई निसाना बनाएर पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। 

सीएनएनका अनुसार अदेन यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी हो। आक्रमणमा प्रधानमन्त्री साया अल–जिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको छ।

यमनको स्वास्थ्य मन्त्रालयका अनुसार, मिसाइल र ड्रोनमार्फत गरिएको हमलामा १६ जना घाइते भएका छन्। उता हुथी विद्रोहीले भने आफूहरूले दरबार परिसरभित्र रहेको साउदी सैन्य अभियान केन्द्रलाई निसाना बनाइएको दाबी गरेको छ। 

यमनका स्वास्थ्य मन्त्री कासिम मोहम्मद बुहाइबेहले मारिएकाहरूमा सुरक्षाकर्मीका साथै सरकारी परिसरमा काम गर्ने कर्मचारी पनि छन्। यो परिसर प्रधानमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरूको मुख्य कार्यस्थल हो। आक्रमणका बेला प्रधानमन्त्री साया मोहसेन अल–जिन्दानीसहित धेरै जना मन्त्री राष्ट्रपति भवन परिसरमै थिए; यद्यपि सबै जना सुरक्षित छन्।

यो हमला यमन सरकारविरुद्ध भएका सबैभन्दा ठुला आक्रमणमध्ये एक हो। यो आक्रमण यम सरकारले यसै महिनाको सुरुमा हुथीविरुद्ध ’यमेन्स डन’ नामक नयाँ सैन्य अभियान सुरु गरेका बेला भएको हो। हुथी विद्रोहीले सन् २०१४ मा यमनको आधिकारिक राजधानी साना कब्जा गरेपछि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारले अदेनलाई आफ्नो राजधानी बनाएको हो।  

त्यही बेलादेखि साउदी अरबले आफ्नो दक्षिणी सीमामा जारी द्वन्द्व सीमित राख्न हुथी विद्रोहीविरुद्धको लडाइँमा यमन सरकारलाई सहयोग गरिरहेको हो। हुथीले बिहीबारको आक्रमण साउदी सैन्य अखडा रहेका जुनसुकै स्थानलाई निसाना बनाउने आफ्नो घोषित रणनीतिकै एक भाग भएको दाबी गरेको छ।

उसको विज्ञप्तिमा भनिएको छ, ‘अदेनमा रहेको साउदी शत्रुको युद्ध सञ्चालन मुख्यालयमा गरिएको गोलाबारी–साउदी सैन्य उपस्थिति रहेका जुनसुकै ठाउँलाई निसाना बनाउने र साउदी शत्रुको कुनै पनि सैन्य उपस्थितिलाई हाम्रा फौजका लागि वैध लक्ष्य मान्ने घोषित रणनीतिको एक हिस्सा हो।’ यमन सरकारले भने अहिलेसम्म प्रहार गरिएका क्षेप्यास्त्रको प्रकार वा दरबार परिसरमा भएको क्षतिबारे तत्काल थप जानकारी दिएको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट