Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

म्याग्दीमा ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट ११५ थान अवैध बन्दुक बरामद

म्याग्दीमा ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट ११५ थान अवैध बन्दुक बरामद

म्याग्दी: जिल्लामा सञ्चालन गरिएको अवैध भरुवा बन्दुक नियन्त्रण अभियान ‘अप्रेसन ब्राभो सेरा’ अन्तर्गत एक महिनामा ११५ थान अवैध बन्दुक बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले गत मङ्सिर १५ गतेदेखि सञ्चालन गरेको अभियानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र वनजङ्गलमा हुने चोरी–सिकारीलाई ध्यानमा राखेर अवैध हातहतियार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ। अन्नपूर्ण गाउँपालिकाबाट १६, मालिका गाउँपालिकाबाट २०, मङ्गला गाउँपालिकाबाट १४, धवलागिरि गाउँपालिकाबाट ६ र बेनी नगरपालिकाबाट ११ थान अवैध बन्दुक नियन्त्रणमा लिइएको छ।

बरामद बन्दुकमध्ये धेरैजसो स्थानीय स्तरमै बनाइएका र प्रयोगमा रहेका थिए। प्रहरीले लुकाई–छिपाई राखिएका बन्दुक गोठ, जङ्गल, खोलाखोल्सा र खाली घरमा भेटिएको जनाएको छ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार, इजाजतपत्र नलिई बन्दुक प्रयोग गर्दा कानुन अनुसार पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुन सक्छ। अभियानले म्याग्दीका गाउँघरमा अवैध बन्दुकको दुरुपयोग रोक्न महत्वपूर्ण योगदान पुर्‍याएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij