Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

वीरगञ्जमा कर्फ्यु हट्यो: समुदायबीच सहमतिसँगै शान्ति कायम

वीरगञ्जमा कर्फ्यु हट्यो: समुदायबीच सहमतिसँगै शान्ति कायम

पर्सा : विगत केही दिनदेखि अशान्त बनेको वीरगञ्जमा आज दिउँसो ३:३० बजेदेखि कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले दुई समुदायबीच सहमति जुटाएपछि यस्तो निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अब वीरगञ्जमा अन्य स्थान वा मुलुकमा घटेका घटनाको आधारमा प्रदर्शन वा आन्दोलन नगर्ने राजनीतिक दल र धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। भविष्यमा कुनै विरोध कार्यक्रम अघि प्रशासनको अनुमति लिनु पर्ने र ज्ञापनपत्र मात्र बुझाउने सहमति पनि बैठकमा भएको छ।

बैठकले सामाजिक र धार्मिक सद्भाव बिथोल्ने खालका गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन प्रशासन सक्रिय रहने निर्णय पनि गरेको छ।

सद्भाव कायम राख्न र विवाद समाधानको लागि ‘स्थायी सद्भाव संयन्त्र’ गठन गरिएको छ। संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुब अली र अलि असगर मदनी रहेका छन्। राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजका प्रतिनिधिहरूले पनि यसमा सहभागिता जनाउनेछन्।

बैठकले सञ्चारकर्मीहरूलाई धार्मिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। सबै पक्षले आ–आफ्नो समुदायमा अनुशासन र आत्मसंयम कायम राख्ने प्रतिबद्धता व्यक्त गरेपछि वीरगञ्जको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किन थालेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट