Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

सल्यान : भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । विस्फोटपछि आगलागी समेत भएको वरपरका घरहरु समेत जलेर ध्वस्त भएका छन । उनीहरूको घटनास्थलमै ज्यान गएको बताइएको छ । सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् ।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको वडा सदस्य विकले जानकारी दिनुभयो । उनीहरू विगत करिब दुई वर्षअघि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको बुझिएको छ ।

अहिले सम्म ५ जनाको शव फेला परेको छ भने बाँकी शवको खोजि कार्य जारी छ । शव तितर वितर भएकाले हालसम्म सबै शवको औपचारिक पहिचान प्रक्रिया पूरा भइनसकेको र घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन् ।

एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ । गाउँभरि शोकमा डुवेको छन भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् ।

वडा अध्यक्ष मेकराज बुढाथोकीका अनुसार घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार वडा शोक सभा आयोजना गरिनेछ । साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा पनि शोक बिदा दिइने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । रोजगारी गरेर परिवार पाल्ने सपना बोकेर गएका गाउँका नागरिक यसरी अकालमै ज्यान गुमाउनु अत्यन्त दुःखद र पीडादायी घटना भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट