Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने

देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने

ललितपुर : नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्न सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी उपचारका लागि खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता दिँदै देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने, अन्य कानुनी कार्यवाहि गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।”

बैठकले आयोगको निर्णयलाई नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत रहेको ठहर गरेको छ। देउवा पक्षले आयोगको निर्णय ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित भएको निष्कर्ष निकालेको छ। विज्ञप्तिमा भनिएको छ, “तथाकथित विशेष महाधिवेशनको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या नहेरी एकलौटी निर्णय दुषित मनसायबाट गरिएको ठहर गरिएको छ।”

बैठकले कानुनी उपचार खोज्ने मात्र नभई, आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवाद गर्ने निर्णय पनि गरेको छ। देउवा पक्षले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित समितिलाई अवैधानिक ढंगले परिवर्तन गर्नु लोकतान्त्रिक व्यवस्थामा षड्यन्त्रको एक अंश भएको आरोप समेत लगाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij