Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

प्रहरी राज बन्द गर्न रास्वपा सचेतक परियारको माग

प्रहरी राज बन्द गर्न रास्वपा सचेतक परियारको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमको कार्यालयमै पुगेर धरपकडको प्रयास गर्ने प्रहरी शैलीप्रति आपत्ति जनाएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो गतिविधि रोक्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्।

पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटना र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको घटनाप्रति प्रतिक्रिया जनाउँदै सचेतक परियारले प्रहरीको कार्यशैलीलाई 'पुलिस स्टेट' अर्थात् 'प्रहरी राज' उन्मुख भएको टिप्पणी गरेका हुन्।

संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व भए पनि प्रहरीको पछिल्लो शैली लोकतान्त्रिक राज्यको सामान्य चरित्रसँग मेल नखाने उनको भनाइ छ।परियारले नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोसाकका प्रहरीको शैलीलाई 'जंगे शैली' को संज्ञा दिँदै घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

उनले विदाको मुखमा भएको उक्त प्रहरी गतिविधिको छानबिन गर्न सरकारसँग विशेष मागसमेत गरेका छन्। साथै, पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विवाद र विषयलाई प्रहरीमार्फत नभई प्रेस काउन्सिलबाटै निरुपण गर्ने अभ्यास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij