Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भक्तपुरको बालसुधार गृहमा मध्यराति किन भयो झडप ?

भक्तपुरको बालसुधार गृहमा मध्यराति किन भयो झडप ?

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ मा सञ्चालित बाल सुधार गृहमा गए राति झडप हुँदा ८ जना नाबालक बन्दी घाइते भएका छन् । १४५ जना बालक र २४ जना बालिका रहेको सो सुधार गृहमा बालबिज्याईंकर्ताले आगजनी गरेका छन् ।

आगजनीबाट भवनमा बस्न नमिल्ने भएपछि उनीहरूलाई त्यहाँबाट विभिन्न प्रहरी युनिटहरूमा लगेर राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए । गएराति करिब पौने १० बजेतिर बाल सुधार गृहमा आपसमा झै–झगडा सुरु भएको थियो ।

झगडाबारे प्रहरीलाई खबर गर्ने बालबालिकालाई अर्को समूहले आक्रमण सुरु गरेपछि सुधार गृह रातभतर तनावग्रस्त बनेको थियो । उमेर धेरै भएका बालबिज्याईंकर्ताले साना बालबालिकालाई आक्रमण गरेको निहुँमा झडप सुरु भएको एसपी खड्काले बताए । उनले भने– ‘प्रहरीसँग गुहार माग्नेलाई तानेर कुटपिट गरेको देखिन्छ ।’

सुधार गृहको सुरक्षामा खटिएका प्रहरीले सम्झाउँदा उनीहरूलाई नै घेराबन्दीमा पारेर बालबिज्याईंकर्ताहरुले भवनभित्र आगजनी गरेका हुन् । बालबिज्याईंकर्ताको आक्रमणबाट प्रहरी जवान महेन्द्रबहादुर सलामी घाइते भएका छन् । आपसमा झैझगडा हुँदा ८ जना बालबिज्याईंकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा सिन्धुपाल्चोक घर भएका बालबिज्याईंकर्ता २० वर्षीय समशेर पहरी, काभ्रे घर भएका १९ वर्षीय नवीन घिसिङ, २० वर्षीय मिलन तामाङ र सिन्धुलीको मरिण भएर भएका १६ वर्षीय बालकसहित ८ जना छन् । उनीहरूमध्ये ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आगजनी र तोडफोडपछि सुधार गृहबाट भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले सबै जनालाई प्रहरी वृत्त थिमी, जगाती र काठमाडौँका प्रहरी युनिटहरूमा राखिएको छ । अवस्था अहिले नियन्त्रणमा आएको एसपी खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट