Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

देवघाट गाउँपालिका विरुद्ध अख्तियारमा १३ उजुरी

देवघाट गाउँपालिका विरुद्ध अख्तियारमा १३ उजुरी

 देवघाट : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा देवघाट गाउँपालिका विरुद्ध १३ वटा उजुरी परेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ वटा र गत आर्थिक वर्षको जिम्मेबारी सरेको २ वटा गरि अख्तियारमा देवघाट गाउँपालिकाको विरुद्ध १३ वटा उजुरी रहेको छ । त्यसमध्ये ५ वटा उजुरी फर्छाैट भई ८ वटा उजुरी बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका अधिकृत उदय पुराजुलीले जानकारी दिए ।

देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा विहिबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा अख्तियार कार्यालय पोखराका अधिकृत उदय पराजुलीले जानकारी गराए । ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकृत पराजुलीले कार्यक्रममा भ्रष्टाचार र अनियमितता विरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय (भ्रष्टाचार निवारण ऐन २०५९ दफा ३–२३) को बारेमा जानकारी गराएका थिए ।

पराजुलीका अनुसार अख्तियारमा चालु आर्थिक वर्षमा तनहुँका १० स्थानीय तह विरुद्ध ७३ वटा उजुरी परेको छ । त्यसमा सबैभन्दा बढि शुक्लागन्डकी नगरपालिका विरुद्ध १६ वटा उजुरी परेको छ । त्यसैगरि क्रमशः व्यास नगरपालिकाको १४ वटा, भानु नपाको १२ वटा, देवघाट गाउँपालिकाको ११ वटा, आबुँखैरेनी र बन्दीपुर गाउँपालिकाको ७/७ वटा, म्याग्देको ४ वटा, भिमाद र घिरिङ गाउँपालिका विरुद्ध १/१ वटा उजुरी परेको छ । त्यसैगरि ऋषिङ गाउँपालिकाको विरुद्ध कुनै पनि उजुरी परेको छैन ।

गत आ.वको जिम्मेवारी सरेको २७ वटा र यस वर्ष परेको उजुरी ७३ गरि कुल १ सय वटा उजुरी तनहुँका स्थानीय तहको विरुद्ध रहेकोमा ३८ वटा उजुरी फर्छौट भई ६२ वटा उजुरी बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख नारायण प्रसाद रेग्मीले जब मानिसहरुमा आफुलाई चित्त बुज्दैन कुनै काम प्रति असुन्तुष्ट हुन्छ तब उजुरी गर्ने गरिन्छ भन्दै सबै उजुरी पर्ने व्यक्ति दोषी नहुने भएकाले उजुरी पर्याे भन्दैमा डराउन नहुने बताए । उजुरी परेपछि त्यस सम्बन्धि निश्पक्ष छानविन हुने र निर्दाेषलाई सफाई र दोषीलाई कानुन अनुसार कार्वाही हुने रेग्मीले बताए । ‘आफुले सत्कर्म गर्ने हो, सत्कर्म गर्दैमा कसैले पनि उजुरी नहाल्ने तर उजुरी हालेमा पनि निर्दाेष भए सफाई पाइन्छ, दोषी भए सजाय’ रेग्मीले भने ‘सरकारी सवारी साधान सरकारी कामकारवाही भन्दा बाहिर चलाएको खण्डमा त्यसलाई पनि भष्टाचार मानिने हुँदा उजुरी गरे त्यसमा पनि कारवाही हुन्छ ।’

उक्त कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले स्थानीय तहले कुनैपनि काम गर्न लाग्दा अख्तियारमा उजुरी हालेर दुख दिने गरेको बताए । ‘स्थानीय सरकारले आफ्नै हिसाबले कानुन बनाएर काम गर्दा पनि उजुरी हालिन्छ’ अध्यक्ष थापाले भने ‘अख्तियारले पनि यस्तो उजुरीमा छिटो भन्दा छिटो फर्छौट गरेर काम गर्ने वातावरण बनाउनुपर्छ ।’ राजश्व संकलनको विषयमा गाउँपालिकालाई सबैभन्दा बढि उजुरी पर्ने गरेको अध्यक्ष थापाले बताए । पछिल्लो समय देवघाटको मौलाकालिका हाइड्रोपावरको विषयमा पनि देवघाट गाउँपालिकाले आयोगलाई स्पष्टीकरण दिनुपरेको अध्यक्ष थाापले बताए ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवघाट गाउपालिकाका पाँच वटै वडाका जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य देवघाट गाउपालिका प्रशासकीय अधिकृत राजिव पन्थीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट