Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या, लुटपाटको आशंका

ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या, लुटपाटको आशंका

ओखलढुङ्गा : ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ।

भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो।



जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

 

यसअघि करिब एक महिना अघि यही चिशंखुगढी गाउँपालिका–६ भदौरेमै करिब ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उक्त लुटपाट र हत्यामा संलग्न चार जनाको गिरोहलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका-३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका थिए ।

सोही समूहले २०८२ असोज २६ गते ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ को ५२ वर्षीया रत्नकुमारी कटवाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए। हत्या पछि गहना र नगद लुटपाट गरेको आरोप थियो। उनीहरूको साथबाट बञ्चरो, खुकुरी, गरगहना, बन्दुक, कोदालो, मोवाइल लगायतका सामान प्रहरीले बरामद गरेको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला पुनः अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन्।

लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij