Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवनमा निर्वाचन सुरक्षा व्यवस्था मजबुतः राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी

चितवनमा निर्वाचन सुरक्षा व्यवस्था मजबुतः राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी

चितवन : चितवनको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो।

निर्वाचन आयोगले तोकेको १५ दिने प्रचारप्रसार अवधिलाई लक्षित गर्दै सोमबारदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा सभा, सम्मेलन र जुलुस हुने भएकाले सुरक्षा परिचालन अझ प्रभावकारी बनाइने जानकारी एसपी पुरीले दिएका छन्।

उनकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले राजमार्गदेखि सबै मुख्य नाकाहरूमा आकस्मिक जाँच (सरप्राइज चेकिङ) सुरु गरेको छ। चितवन देशको मध्य भागमा अवस्थित हुनाले यसलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण ‘ट्रान्जिट प्वाइन्ट’ मानिएको छ।

अवैध सामग्रीको ओसारपसार र निर्वाचन बिथोल्ने प्रयास रोक्न प्रहरीले तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी चेक प्वाइन्ट स्थापना गरेको छ। यसले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

जिल्लाका तीन निर्वाचन क्षेत्रका कुल ६४ जना उम्मेदवारहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। उम्मेदवारहरूको घरदैलो र प्रचार कार्यक्रममा आवश्यक सुरक्षा समन्वय मिलाइएको छ। एसपी पुरीका अनुसार, ‘कुनै उम्मेदवारलाई सुरक्षा चुनौती महशुस भएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार थप सुरक्षा उपलब्ध गराउन सकिन्छ।’

हालसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको र सुरक्षा स्थिति चुस्तदुरुस्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij