काठमाडौं : बाराको सीमावर्ती पथलवाघाट र खजानी क्षेत्र हाल संगठित तस्करीको प्रमुख ‘ट्रान्जिट’ बन्दै गएको छ। स्थानीय स्रोतका अनुसार यी नाकाबाट लत्ताकपडा, हार्डवेयर सामग्री, कवाड, भैंसी, गाई–गोरु, सुर्तीसहितका वस्तुहरू ठूलो मात्रामा अवैध रुपमा ओसारपसार भइरहेका छन्।
स्थानीयले बताए अनुसार, पछिल्ला केही महिनादेखि तस्करी झन् व्यापक भएको छ। ‘कुन नाका सहज र सुरक्षित हुन्छ, त्यही रोजेर तस्करी गर्ने पुरानो शैली अहिले पनि चलिरहेको छ,’ एक स्थानीयले बताए।
प्रहरी संरक्षणमा तस्करी
सबैभन्दा गम्भीर आरोप भने स्थानीय प्रहरी चौकीकै संरक्षणमा तस्करी भइरहेको हो। पथलवाघाट र खजानी चौकीका अधिकारीहरूले तस्करहरूको ‘लाइन’ मिलाएर नियमित मासिक बुझ्ने व्यवस्था रहेको दाबी गरिएको छ।
स्थानीय स्रोतले नामसहित तस्करहरूको सूची समेत सार्वजनिक गरेका छन्। पथलवाघाट–खजानी नाकामा मास्टर, नरेश यादव, अरबिन्द साह, प्रविण साह, भोला साह, प्रदिप साह, उपेन्द्र यादव, नितेष यादव, रमाकान्त यादव, मुकेश मुखिया, गोरे नवल र दिनेश यादव जस्ता व्यापारीहरू नियमित रूपमा अवैध ओसारपसारमा संलग्न रहेको दाबी छ।
गाँजा र चरेसको मुख्य रुट
पथलवाघाट नाका नेपाल–भारत सीमामा गाँजा तस्करीको मुख्य मार्गको रूपमा पनि चिनिएको छ। धादिङ र मकवानपुरका पहाडी क्षेत्रबाट उत्पादित गाँजा र चरेस यही नाकाबाट भारत पठाइँदै आएको स्थानीय स्रोतले बताए।
निर्देशन कार्यान्वयन विहीन
मधेस प्रदेश प्रमुख गोविन्द थपलिया र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बाराका नाकामा अवैध गतिविधि नियन्त्रण गर्न पटक–पटक निर्देशन दिँदै आएका छन्। तर स्थानीय स्रोतका अनुसार, ती निर्देशन कार्यान्वयनमा आएका छैनन्।
सीमावर्ती क्षेत्रमा तस्करी खुलेआम भइरहेको अवस्थामा प्रहरी–तस्कर गठजोडको आरोप फेरि उठेको छ। अब प्रश्न उठ्छ—के पथलवाघाट र खजानी नाकामा साँच्चै गठजोड छ? सम्बन्धित निकायले यथार्थ छानबिन गरी सार्वजनिक गर्नु अपरिहार्य देखिएको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij