Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

फागुन २१ निर्वाचनका लागि २४ प्रकारका सामग्री चितवन आइपुग्यो, मतपत्र आजसम्म आइपुग्ने

फागुन २१ निर्वाचनका लागि २४ प्रकारका सामग्री चितवन आइपुग्यो, मतपत्र आजसम्म आइपुग्ने

भरतपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये २४ प्रकारका सामग्री चितवन आइपुगेका छन्। जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार सोमबारसम्म २४ प्रकारका सामग्री जिल्लामा भित्रिएको हो।

उनका अनुसार मतपत्रसहितका केही महत्वपूर्ण सामग्री अझै आउन बाँकी छन्। “मतपत्र र मतपेटिका आज मंगलबारसम्म आइपुग्नेछ, हेटौँडाबाट सामग्री आएका हुन्,” कार्कीले जानकारी दिए। हालसम्म आइपुगेका सामग्रीमा छाप, मसी, कैँची, मार्कर, पेन, ब्लेड, टोसार, टेप, कपडालगायतका सामग्री रहेका छन्। आएका सामग्रीको व्यवस्थापनसमेत पूरा भइसकेको उनले बताए।

चितवनका तीनवटा निर्वाचन क्षेत्रका लागि समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र तथा मतपेटिका आउन बाँकी रहेको कार्यालयले जनाएको छ।

४ लाख ४२ हजारभन्दा बढी मतदाता

जिल्लामा कुल ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। जसमध्ये २ लाख १७ हजार ३१४ पुरुष, २ लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता छन्। १६२ मतदान स्थल र ४९४ मतदान केन्द्रबाट मतदान हुनेछ।

प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र वृद्धि भएको प्रमुख कार्कीले जानकारी दिए।

क्षेत्रगत विवरण

  • क्षेत्र नं. १: १ लाख ४९ हजार ६२१ मतदाता (५६ स्थल, १६८ केन्द्र)

  • क्षेत्र नं. २: १ लाख ३७ हजार १५२ मतदाता (४८ स्थल, १५२ केन्द्र)

  • क्षेत्र नं. ३: १ लाख ५५ हजार ३०९ मतदाता (६३ स्थल, १७४ केन्द्र)

मतदाता शिक्षा अभियान सुरु

चितवनका सातवटै पालिकाका ९८ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। प्रमुख कार्कीका अनुसार आइतबारदेखि घरदैलो अभियानमार्फत मतदाता शिक्षा सञ्चालन भइरहेको छ। कार्यक्रम फागुन १७ गतेसम्म चल्नेछ। “चिया–चौतारादेखि चिया पसलसम्म पुगेर मतदातालाई सचेत गराइँदैछ,” उनले बताए। स्वयंसेविकाहरू यस अभियानमा खटिएका छन्।

मतपत्र छपाइ अन्तिम चरणमा

यसैबीच, प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले प्रत्यक्षतर्फको बाँकी पाँच लाख मतपत्र छपाइ अन्तिम चरणमा रहेको जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार दुई करोड तीन लाख प्रत्यक्षतर्फका मतपत्र छपाइ गर्नुपर्नेमा अब केही मात्र बाँकी रहेको छ। दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै लक्ष्यभन्दा अगाडि काम भइरहेको उनले बताए।

त्यसैगरी, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न भइसकेको र जिल्लामा ढुवानी भइरहेको जानकारी दिइएको छ। कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको तथा बाँकी क्षेत्रमा पनि छिट्टै पुर्याउने लक्ष्य राखिएको छ।

निर्वाचन नजिकिँदै जाँदा चितवनमा तयारी तीव्र बनाइएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट