Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवन–३ बाट उम्मेदवार रेनु दाहालको घोषणा: “जितेपछि चितवनलाई देशकै राजधानी बनाउँछु”

चितवन–३ बाट उम्मेदवार रेनु दाहालको घोषणा: “जितेपछि चितवनलाई देशकै राजधानी बनाउँछु”

भरतपुर : चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी रेनु दाहाल ले आफू विजयी भए चितवनलाई देशकै राजधानी बनाउने अठोट व्यक्त गरेकी छन्।

बुधबार नेपाली कम्युनिस्ट पार्टी चितवन क्षेत्र नम्बर ३ ले भरतपुर–९ को धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले चितवनलाई आर्थिक विकासको केन्द्र, रोजगारीको प्रमुख गन्तव्य र व्यापारिक हबका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइन्।

दाहालले भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा करिब नौ वर्ष काम गर्दा ठूला पूर्वाधार आयोजना सम्पन्न गरेको उल्लेख गर्दै बाँकी अधुरा योजनाहरू जनताले जिताएर पठाएपछि सङ्घीय संसदमार्फत बजेट विनियोजन गरी पूरा गर्ने बताइन्।

उनका अनुसार आफ्नो कार्यकालमा ६ लेन सडक निर्माण, सिटी हल निर्माण, एक हजार ८८ किलोमिटर सडक कालोपत्रे लगायतका पूर्वाधार निर्माण सम्पन्न भएका छन्। साथै भरतपुर विमानस्थल विस्तार, नयाँ टर्मिनल भवन निर्माण, नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ र गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका काम अघि बढेको उनले चर्चा गरिन्।

बजार क्षेत्रको ढल व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन डिपिआर र इआइए पूरा भइसकेको उल्लेख गर्दै दाहालले करिब ३ अर्ब रुपैयाँको ढल निकास परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

“महानगर प्रमुख हुँदा जनताको सुख–दुःखमा साथ दिएको छु, अब पनि जनताको सेवक भएर काम गर्नेछु,” उनले भनिन्।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले समेत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कलाकार भूमिका गिरी, सरिता गुरुङ, पवित्रा यात्री र नवीन खड्कालगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। सांस्कृतिक कार्यक्रममा उम्मेदवार दाहालसहित स्थानीय सर्वसाधारणले गीत–संगीतमा छमछमी नाचेर उत्साह व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij