विराटनगर : नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन मोरङमा १ हजार १४० जना प्रहरी परिचालन गरिने भएको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा, बजार व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुरक्षा योजना लागू गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत हत्या, बलात्कार, मानव बेचबिखन, चोरी, पाकेटमारी, लुटपाट, अपहरण, धम्की, जुवा तथा लङ्गुरबुर्जा, नक्कली नोटको कारोबार, वैदेशिक मुद्रा ठगी र पेय पदार्थमा नसालु पदार्थ मिसाउनेजस्ता अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी पटका तथा आतिशबाजीबाट हुन सक्ने आगलागी र दुर्घटना, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, नक्कली टिकटमार्फत यात्रु ठगी, घर खाली भएका बेला हुने चोरी तथा बजारमा हुने अत्यधिक भीड व्यवस्थापनमा पनि प्रहरीले विशेष निगरानी गरिने उनले जानकारी दिए ।
प्रहरीले विराटनगरको कालिमन्दिर, रंगेलीको काली मन्दिर, मुख्य बजार क्षेत्र, बसपार्क, सपिङ मल, सुनचाँदी पसल, सरकारी तथा निजी कार्यालय, बैंक र एटीएमलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ । विराटनगरको तीनपैनीदेखि ट्राफिक चोकसम्मको मेन रोड, हनुमानदास रोड, बाटा गल्ली, महावीर रोड, जानकी रोड, एमजी रोड, नयाँ तथा पुरानो गुद्री र हाटखोलालगायतका क्षेत्रमा विशेष निगरानी गरिनेछ ।
३१४ स्थानमा सुरक्षा ड्युटी
चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट १ हजार ९० जना र थप मद्दतका रूपमा ५० जना गरी कुल १ हजार १४० जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए । परिचालित जनशक्तिमा प्रहरी अधिकृतदेखि जवानसम्मका कर्मचारी रहने उनको भनाई छ । सुरक्षा योजनाअन्तर्गत ३१४ स्थानमा विभिन्न प्रकारका ड्युटी सञ्चालन गरिनेछ । यसमा ११३ स्थानमा पिकेट चेकिङ, ७२ स्थानमा मोटरसाइकलसहितको क्विक रेस्पोन्स टिम (क्यूआरटी), ४० स्थानमा राजमार्ग तथा धार्मिक पर्यटकीय स्थलको सुरक्षा र १७ स्थानमा मोबाइल गस्तीको व्यवस्था गरिएको छ ।
त्यसैगरी १७ स्थानमा पैदल गस्ती, १८ स्थानमा चोरी तथा तस्करी नियन्त्रण, सात स्थानमा क्राइम रेस्पोन्स भेहिकल (सीआरभी) र १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने कटवाले बताए । उनका अनुसार ट्राफिकसहितको चेकिङ पाँच स्थानमा, मादक पदार्थ सेवन परीक्षण पाँच स्थानमा, लामो दूरीका सवारीसाधनको विशेष चेकिङ तीन स्थानमा तथा सादा पोसाकमा प्रहरी परिचालन दुई स्थानमा गरिनेछ। बजार अनुगमन, कमान्ड पोस्ट, रिजर्भ टोली र ड्युटी व्यवस्थापनका लागि पनि छुट्टै व्यवस्था गरिएको छ ।प्रहरीले जनचेतनामूलक कार्यक्रम, नियमित गस्ती, निगरानी, चेकजाँच र कानुनविपरीतका गतिविधिमा संलग्नलाई कारबाही गर्ने रणनीति अपनाएको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन क्यामेरा, तालिमप्राप्त कुकुर र समुदाय–प्रहरी सहकार्यलाई समेत प्राथमिकता दिइएको छ ।
लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार मोरङमा लागूऔषध नियन्त्रण प्रहरीका लागि महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २ हजार २८५ किलो गाँजा बरामद हुँदा ८७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८२/८३ मा ५ हजार ८५३ किलो गाँजा बरामद भएको र ७५ जना पक्राउ परेको तथ्याङ्क छ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ४१५ किलो गाँजा बरामद गरी नौ जनालाई पक्राउ गरिएको छ ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ६३३ ग्राम ब्राउन सुगर बरामद गरी १८० जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८२/८३ मा ४ हजार २१८ ग्राम ब्राउन सुगर बरामद हुँदा २३७ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको भदौसम्म १ हजार २६६ ग्राम ब्राउन सुगर बरामद गरी ५३ जनालाई पक्राउ गरिएको छ ।लागूऔषधविरुद्ध जनचेतना बढाउन प्रहरीले मोरङका १७ वटै पालिकामा ‘लागूऔषधविरुद्धको महाअभियान २०८३’ सञ्चालन गरेको छ । अभियानअन्तर्गत ‘लागूऔषधविरुद्ध एकजुट हौँ’ भन्ने सन्देशसहित टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको थिया । प्रतियोगितामा प्राप्त २८६ भिडियोमध्ये उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ ।
दुई वर्षमा ४ हजारभन्दा बढी सवारी दुर्घटना
मोरङमा सवारी दुर्घटनाको तथ्याङ्क पनि उल्लेख्य छ । आर्थिक वर्ष २०८१/८२ मा २ हजार ५८ वटा दुर्घटना हुँदा १२५ जनाको मृत्यु भएको र ३ हजार २९६ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८२/८३ मा दुर्घटना संख्या बढेर २ हजार २४९ पुगेको थियो । उक्त वर्ष ११६ जनाको मृत्यु हुँदा ३ हजार ४६५ जना घाइते भएका थिए ।चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ४२६ वटा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको र ५६५ जना घाइते भएका छन् । सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध प्रहरीले अघिल्लो आर्थिक वर्षमा १९ हजार ४३३ पटक कारबाही गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षको भदौसम्म २ हजार ९३१ पटक कारबाही गरिएको छ ।
अपराध अनुसन्धान र राजस्व असुलीमा प्रगति
प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा सफलता हासिल गरेको जनाएको छ । विराटनगर–१७ रानीमा तन्नामा बाँधेर फालिएको महिलाको शव पहिचान गरी घटनाको दुई घण्टाभित्र मुख्य अभियुक्त रोशन साहलाई पक्राउ गरिएको थियो । लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा संलग्न पदमबहादुर अधिकारी तथा सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया बालिकाको शव फेला परेको घटनामा संलग्न जान महमद मन्सुरीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।यसैगरी, मोरङ कारागारभित्रैबाट अनधिकृत असुली गरेको आरोपमा अभिषेक गिरी, विजय कामतसहित चार जनामाथि आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । नक्कली नागरिकता बनाएर बिक्री वितरण गरेको सूचनाका आधारमा विराटनगरको न्यू डोली फोटो स्टुडियोबाट १२ थान नक्कली नागरिकता प्रमाणपत्रसहित दुई जनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।
राजस्व तथा भन्सार छली नियन्त्रणतर्फ आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ५६ लाख ७० हजार २९७ रुपैयाँ बराबरको राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो रकम बढेर ८ करोड ५६ लाख २ हजार ५३ रुपैयाँ पुगेको तथ्याङ्क छ । प्रहरी नायव उपरिक्षक मिश्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम ५३.७७ प्रतिशतले बढी हो ।
प्रविधि र नागरिकमैत्री सेवामा जोड
प्रहरीले सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउँदै ३४ लाख रुपैयाँ बराबरका सीसीटीभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको जनाएको छ । जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका क्यामेरा महानगरपालिका तथा स्थानीय तहसँगको समन्वयमा पुनःस्थापना गरिएको हो । अपराध नियन्त्रणका लागि चोरी, तस्करी, ठगी, लागूऔषध कारोबार, हुण्डी तथा सट्टेबाजीमा संलग्न व्यक्तिहरूको प्रोफाइलसमेत तयार गरिएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६६८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३६ हजार ६५० जनालाई लाभान्वित गराइएको प्रहरीले जनाएको छ । नागरिक सहायता कक्षबाट निःशुल्क निवेदन लेखिदिने, महिला तथा बालबालिका सेवाकेन्द्रमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने, बालमैत्री कक्ष सञ्चालन गर्ने तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई प्रवेशद्वारमै सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
प्रहरीको आकस्मिक नम्बर १०० मा एकैपटक पाँच जनाले फोन गर्न सक्ने गरी सेवा विस्तार गरिएको र फोन कलको दुई महिनासम्मको अभिलेख रहने प्रणाली जडान गरिएको पनि प्रहरीले जनाएको छ ।चाडपर्वका बेला हुने सम्भावित अपराध, चोरी, ठगी, सवारी दुर्घटना र भीडभाड व्यवस्थापनलाई ध्यानमा राख्दै प्रहरीले नागरिकलाई सतर्क रहन, अपरिचित व्यक्तिको गतिविधिमा ध्यान दिन, घर छाड्दा सुरक्षा व्यवस्था मिलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij