Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

काठमाडौं उपत्यकामा पाँच एसएसपी खटिए, निर्वाचन सुरक्षामा अनुगमन–मुखी मोडेल लागू

काठमाडौं उपत्यकामा पाँच एसएसपी खटिए, निर्वाचन सुरक्षामा अनुगमन–मुखी मोडेल लागू

काठमाडौं : आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यसहित नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना २०८२’ कार्यान्वयनमा ल्याएको छ। सोही योजनाअन्तर्गत काठमाडौं उपत्यकामा उच्चस्तरीय अनुगमन संयन्त्र परिचालन गरिएको छ।

समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई अनुगमन अधिकृतका रूपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी परिचालन नीतिअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा छुट्टाछुट्टै जिम्मेवारी तोकी सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन तथा मूल्यांकन गरिनेछ।

काठमाडौं जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतलाई दिइएको छ। त्यसैगरी क्षेत्र नम्बर ५, ६ र ७ मा एसएसपी सोमेन्द्रसिंह राठौर तथा क्षेत्र नम्बर ८, ९ र १० मा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड भने एसएसपी रमेश थापाले सम्हालिरहेका छन्।

ललितपुर जिल्लामा निर्वाचन सुरक्षाको अनुगमनका लागि एसएसपी सन्तोष खड्का खटिएका छन्। ललितपुरमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन्। ललितपुर जिल्ला प्रहरी प्रमुखका रूपमा एसएसपी होविन्द्र बोगटी कार्यरत छन्।

यस्तै, दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लामा एसएसपी प्रविण धिताललाई अनुगमन अधिकृत तोकिएको छ। भक्तपुर जिल्ला प्रहरी परिसरको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काले गरिरहेका छन्।

के–के रहनेछ अनुगमनको दायरा?

खटाइएका एसएसपीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनको समग्र अवस्थाको स्थलगत अनुगमन गर्नेछन्। साथै जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्यांकन, स्वीकृत सुरक्षा योजनाको कार्यान्वयन अवस्था परीक्षण तथा केन्द्रबाट जारी नीति–निर्देशनको पालना भए–नभएको निरीक्षण गर्ने जिम्मेवारी उनीहरूलाई दिइएको छ।

निर्देशन कार्यान्वयनमा कमजोरी भेटिएमा तत्काल सुधारात्मक पहल गरी आवश्यक समन्वय गर्न सम्बन्धित जिल्ला प्रहरी परिसरलाई सहजीकरण गरिने जनाइएको छ। आवश्यकता परेमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमार्फत थप निर्देशन र समन्वय प्रदान गरिनेछ।

प्रहरी स्रोतका अनुसार यस पटक निर्वाचन सुरक्षामा ‘अनुगमन–मुखी’ मोडेल अपनाइएको छ, जसले सुरक्षा संयन्त्रलाई थप चुस्त, उत्तरदायी र परिणाममुखी बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij