हेटाैंडा : नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले फागुन १६ गते शनिबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम र पत्रकारलाई जिम्मेवार भएर यथार्थ समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आम सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ।
समितिले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन पत्रकारहरूले कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी तटस्थ, सन्तुलित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ।
महासंघले पत्रकार आचारसंहिता, २०७३ (संशोधन २०७६) तथा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन र तथ्यपूर्ण सामग्री मात्र प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको छ।
निर्वाचनलाई थप समावेशी बनाउन समाचार संकलनका क्रममा महिला, दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका आवाजलाई प्राथमिकता दिन पनि महासंघले आग्रह गरेको छ।
साथै, कार्यक्षेत्रमा खटिने क्रममा व्यक्तिगत सुरक्षा र स्वास्थ्यप्रति सचेत रहन बागमती प्रदेशका सम्पूर्ण सञ्चारकर्मीलाई ध्यानाकर्षण गराइएको छ। निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा सफल बनाउन सञ्चार क्षेत्रले व्यावसायिक मर्यादा कायम राख्दै वस्तुनिष्ठ र सन्तुलित सूचना सम्प्रेषण गर्न महासंघले हार्दिक अनुरोध गरेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij