काठमाडौं : फेक रेस्क्यु प्रकरणमा प्रहरीले थप अस्पतालहरुमाथि छानबिन अघि बढाएको छ। पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकलाई बिरामी बनाएर आफू निकट अस्पतालमा भर्ना गरी लाखौं पैसा असुलेर बीमा ठगी प्रकरणमा धेरै अस्पतालको संलग्नता देखिएको छ।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले लाजिम्पाटस्थित श्रीद्धी इन्टरनेशनल अस्पतालका डा. गिवार्णराज तिमल्सिनालाई पक्राउ गरिसकेको छ। छानबिनको दायरामा धुम्बाराहीको ह्याम्स अस्पताल, सोह्रखुट्टेको एरा इन्टरनशेनल अस्पताल र बत्तीसपुतलीस्थित श्वाकन अस्पताल समेत छन्। तीन अस्पतालमा पनि बिमा ठगीका संलग्न धेरै पर्यटकलाई भर्ना गरेर करोडौं असुलिएको सीआइबीको छानबिनमा खुलेको छ।
श्वाकन अस्पतालमा लगानी गर्ने माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमाल पक्राउ परिसकेका छन्। सो अस्पतालमा लगानी गर्ने एयर डायनेष्टीका मालिक श्यामसुन्दर कँडेल फरार भइसकेका छन्। फेक रेस्युबाटै दुई अर्ब भन्दा बढी सम्पत्ति आर्जन गरेका कँडेल प्रहरीकै उच्च अधिकारीहरुको सेटिङमा फरार भएका हुन् ।
स्रोतका अनुसार सीआइबीले एरा अस्पताल र ह्याम्सका केही कर्मचारी र सञ्चालकमाथि सोधपुछ थालिसकेको छ। ह्याम्सका सञ्चालक आरएस भण्डारी पनि छानविनको दायरामा तानिएको स्रोत बताउँछ । भण्डारीको स्रोत नखुलेको अर्बौं सम्पत्ति भेटिएको हुँदा उनीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्ने अवस्था देखिएको स्रोत बताउँछ ।
यसअघि सरकारले गरेको छानबिनमा नर्भिक र श्वाकन अस्पतालको ठगीमा मिलेमतो देखिएको थियो। त्यसपछि उनीहरुले चलखेल गरेर कारबाही रोकाएका थिए। यसपटक सीआइबीले यस्तो गिरोहमा संलग्न एक सय भन्दा धेरै व्यक्तिमाथि छानबिन गरिरहेको छ ।
सीआइबीले यस प्रकरणमा एक महिनाअघि माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धी इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई सिआइबीले पक्राउ गरिसकेको छ।
विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारी दुई साताअघि पक्राउ परेका थिए । गिरोहमा संलग्न केही ट्रेकिङ कम्पनीका सञ्चालकहरु पनि फरार भइसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij