काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको देवघाट गाउँपालिकाका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । देवघाट गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरिवेक्षक र उत्प्रेरक संयोजकका रूपमा कार्यरत होमबहादुर भारतीविरुद्ध आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
भारतीले देवघाट गाउँपालिकाको कार्यालयमा विभिन्न पदमा बहाल रहन र त्यसबापत गैरकानुनी लाभ तथा सुविधा लिने उद्देश्यले झुट्टा प्रमाणपत्र पेस गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उनले सन् १९९९ (२०५५ साल) मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको दाबी गर्दै ‘सि.नं.0252431M’ को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। सोही प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको हैसियत र सुविधा प्राप्त गरेको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
भारतीको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिने देखिएको छ। सोही ऐन अनुसार उनलाई कैद र जरिवाना सजायको मागदाबी गर्दै अख्तियारले कानुनी प्रक्रिया अगाडि बढाएको हो ।
सरकारी सेवामा झुट्टा विवरण पेस गरी लाभ लिनु जघन्य अपराध मानिने हुँदा उनलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij