भरतपुर: भरतपुर–२९ स्थित सिमलतालमा पहिरोमा परी बेपत्ता भएको बसको अवशेष उत्खनन गर्दा भेटिएको अस्थिपञ्जरबाट मृतकको पहिचान खुलेको छ। अवशेष भेटिएपछि पुस २७ गतेबाट बसको उत्खनन सुरु गरिएको थियो।
उत्खननको क्रममा १६औँ दिन, माघ १२ गते एउटा अस्थिपञ्जर भेटियो। अस्थिपञ्जर सर्टसहितको थियो र कम्मरभन्दा माथि टाउकोसम्मको भाग निकालियो। अन्य यात्रुको अस्थिपञ्जर भेटिने सम्भावना नदेखिँदा बसको उत्खनन कार्य सोही दिन रोकिएको थियो।
अस्थिपञ्जर भेटिए पनि मृतक को हो भन्ने अनुसन्धान थालिएको थियो। चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरी का अनुसार, भेटिएको अस्थिपञ्जर यकिन गर्न भरतपुर अस्पतालमा पठाइएको थियो। चिकित्सकहरूले पोस्टमार्टम गरेपछि मृतकको उमेर समूह ५०–६० वर्ष भएको पत्ता लाग्यो।
एसपी पुरीका अनुसार, उक्त बसमा सो उमेर समूहका ३ जना सवार थिए। “कंकालसँगै मृतकको सर्ट पनि भेटिएकोले अनुसन्धान अझ सजिलो भयो। सर्ट धोएर हेर्दा वास्तविक रंग (फिक्का रातो) समेत देखियो,” उनले बताए।
प्रहरीले मृतक पहिचान गर्न बसको चालकको पछाडिको सिट, उमेर समूह, सर्टको रंग र टिकटमा उल्लेख सिटको आधारमा विश्लेषण गरे। सम्भावित आफन्तसँग नियमित सम्पर्क गरी अनुसन्धानलाई थप पुष्टि गरिएको थियो।
अन्ततः अस्थिपञ्जर ५७ वर्षका परशुराम बनियाँको भएको पुष्टि भयो। उनी गणपति डिलक्स बसको चालकको पछाडिको सिटमा बसेका थिए। परशुरामले दुर्घटनाभन्दा अघिल्लो दिन काठमाडौँ पशुपति घुम्दा लगाएको कपडा अस्थिपञ्जरसँग मेल खायो। उनका छोरा सरोजले पनि बाबुको अस्थिपञ्जर भएको बताए।
एसपी पुरीका अनुसार, फागुन २ गते मृतकको सनाखत गरी अस्थिपञ्जर परिवारलाई हस्तान्तरण गरिएको थियो। दुर्घटनामा सरोजले बुबासँगै आमा मीनादेवी, दिदी रिन्कु र भिनाजु नरेश साह गुमाएका थिए।
यो घटना २०८१ असार २८ गते बिहान करिब साढे ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुई बस पहाडी भागबाट त्रिशूली नदीतर्फ खस्दा भएको थियो। सोही बसमध्ये काठमाडौँ–रौतहटका लागि छुटेको गणपति डिलक्स बस दुर्घटनास्थलबाट करिब ३०० मिटर तल भेटिएको थियो। बस भेटिएपछि मानव कंकालको सम्भावनाका लागि चितवन र तनहुँका प्रहरी प्रशासनले खोजी थालेको थियो, जस क्रममा अस्थिपञ्जर भेटिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij