काठमाडौं : अमेरिका र इजरायलको इरानसँग बढ्दो युद्धजन्य तनावको असर भारतमा समेत देखिन थालेको छ। देशका विभिन्न स्थानमा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी)को अभाव भएपछि ग्यास एजेन्सीहरू अगाडि बिहानैदेखि लामो लाइन लाग्न थालेको छ। चार दिनदेखि कमर्शियल ग्यास सिलिन्डरको आपूर्ति हुन नसक्दा होटल र रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित भएका छन्। कतिपय स्थानमा सिलिन्डरको कालोबजारी भइरहेको गुनासो पनि बढेको छ।
पञ्जाबमा ग्यास अभावका कारण मानिसहरू सिलिन्डर लिएर दौडिरहेका दृश्य सामाजिक सञ्जालमा देखिएका छन्। त्यस्तै केरलमा ग्यास अभाव बढेपछि करिब ४० प्रतिशत रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन्। उता दिल्लीमा कांग्रेस कार्यकर्ताहरूले एलपीजी आपूर्तिमा आएको अव्यवस्था विरुद्ध केन्द्र सरकारको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरू प्रदर्शनका क्रममा माटोको चुलो बोकेर सडकमा उत्रिएका थिए।
राजस्थानमा पनि ग्यास आपूर्ति ठप्प भएको भन्दै विरोध प्रदर्शन गरिएको छ। जयपुरमा कांग्रेस कार्यकर्ताहरूले प्रतीकात्मक रूपमा ग्यास सिलिन्डरको “शवयात्रा” निकालेर सरकारको ध्यानाकर्षण गराएका छन्। ग्यास अभावका कारण होटल–रेस्टुरेन्टहरूमा स्टक सकिँदै जाँदा व्यवसाय ठप्प हुन थालेको छ। कोटा लगायतका केही शहरका होस्टेल मेस र ढाबाहरूमा बाध्य भएर काठ, कोइला तथा विद्युतीय चुलो प्रयोग गरेर खाना पकाउन थालिएको छ।
धेरै शहरमा बिहान ५ बजेदेखि नै ग्यास एजेन्सी अगाडि लामो लाइन लागिरहेको छ। कतिपय स्थानमा सिलिन्डर नपाउँदा सर्वसाधारण र प्रहरीबीच झडपसमेत भएको खबर आएको छ। यसबीच सिलिन्डरको कालोबजारी बढिरहेको भन्दै विपक्षी दलहरूले सरकारमाथि दबाब बढाइरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij