काठमाडौँ: केही दिनयता काठमाडौँ उपत्यका र अन्य मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (AQI) १७८ हाराहारीमा पुगेको थियो भने आज मध्याह्नसम्म सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ।
यस अनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचिमा रहेको थियो, तर आज बाह्रौँ स्थानमा झरेको छ। केही दिनयता मौसम धुम्मिँदै गएपछि प्रदूषण बढेको थियो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार परेको वर्षाले हावामा रहेको धुलो र कण जमिनमा झार्न मद्दत गरेको र यसले वायु प्रदूषण घटाएको जानकारी दिए।
उनले भने, “वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ। दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छौँ।”
वातावरणविद् भुषण तुलाधरले पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण र सवारीसाधनको धुवाँ परीक्षण तथा मापदण्डको कडाइ आवश्यक रहेको बताए। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले पनि वर्षाले वायु प्रदूषण हटाउन सहयोग गरेको जानकारी दिए। विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवन (१२६.२ मि.मि.), लमजुङ (१०२.२ मि.मि.), गोरखा (९० मि.मि.), उदयपुर (९८.४ मि.मि.) र झापा (९६.४ मि.मि.) मा मापन गरिएको छ।
एक्युआइको मापदण्डअनुसार:
०–५० = राम्रो
५१–१०० = सचेत रहनुपर्ने
१०१–१५० = अस्वस्थ (विशेषगरी श्वासप्रश्वास र मुटु रोगी)
१५१–२०० = सबैका लागि अस्वस्थ
२०१–३०० = धेरै अस्वस्थ
३०० भन्दा माथि = अत्यन्त खतरनाक
विशेषगरी श्वासप्रश्वास र मुटु रोगीले अझै सावधानी अपनाउनुपर्ने वातावरण विद्हरूले सुझाएका छन्। वर्षाले प्रदूषण घटाए पनि दीर्घकालीन सुधारका लागि वातावरणमैत्री नीतिहरू र सतत् उपाय आवश्यक रहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij