धनगढी : प्रहरीले नै चोरीका सवारीसाधन प्रयोग गरेको विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रशासन सक्रिय बनेको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन जारी गर्दै प्रहरी कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको विवरण संकलन गर्न आदेश दिएको हो। केही दिनअघि प्रदेश प्रहरीमा कार्यरत एक हवलदार र दुई सहायक हवलदारले चोरीका मोटरसाइकल प्रयोग गर्दै आएको तथ्य सार्वजनिक भएपछि प्रहरी प्रशासनले छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ।
सो विषय सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय ले मातहतका ९ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै सबै प्रहरी कर्मचारीले प्रयोग गरिरहेका सवारीसाधनको विवरण तत्काल पठाउन निर्देशन दिएको हो।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना को निर्देशनमा यस्तो कदम चालिएको हो। निर्देशनमा कुनै पनि प्रहरी कर्मचारीले चोरीका सवारीसाधन प्रयोग गरेको पाइए प्रहरी नियमावलीअनुसार कडा कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।
प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्ट का अनुसार डीआईजीको निर्देशनअनुसार सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइसकिएको छ। उनका अनुसार मातहतका सबै युनिटहरूलाई पनि पत्राचार गरी प्रहरी कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको विवरण माग गरिएको छ।
प्रहरीभित्रैबाट चोरीका सवारीसाधन प्रयोग भएको विषय बाहिरिएपछि प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन र निगरानी प्रणालीमाथि समेत प्रश्न उठ्न थालेको छ। प्रहरीले भने घटनाबारे आवश्यक छानबिन गरी दोषी देखिएकामाथि कडा कारबाही गरिने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij