काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपालमा फैलिएको फेक रेस्क्यु प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। प्रारम्भिक अनुसन्धानमा ५० भन्दा बढी व्यक्तिहरू संलग्न देखिए पनि अहिलेसम्म १० जना मात्र पक्राउ परेका छन्। कतिपय पहुँचवालाहरु अझै फरार रहेका छन्।
यस प्रकरणमा मुख्य व्यक्तिमध्ये एक श्यामसुन्दर कँडेल हुन्, जो एयर डायनेष्टिका मालिक हुन्। स्रोतका अनुसार उनलाई नेपाल विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह ले जोगाएका थिए। सिंह भने पहिले नै पक्राउ परिसकेका छन्।
कँडेलले आफ्नो एयर डायनेष्टि, फ्लाइट कनेक्सन इन्टरनेशनल, होटल ग्रिन पार्क चितवन, श्वाकन इन्टरनेशनल हस्पिटल, बागमती फाइबर एण्ड मेटल, ट्रष्ट नेष्ट रियल स्टेट, गोल्डेन फार्म्स लगायतका कम्पनीमा लगानी गरेका छन्। फेक रेस्क्युको धन्दाबाट उनले अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको प्रहरीको प्रारम्भिक तथ्यांक छ।
सीआइबीले हाल धुम्बाराहीको ह्याम्स अस्पताल, सोह्रखुट्टेस्थित एरा इन्टरनशेनल अस्पताल र बत्तीसपुतलीस्थित श्वाकन अस्पतालमाथि समेत छानबिन गरिरहेको छ। यद्यपि अस्पतालका केही सञ्चालकहरू अहिलेसम्म पक्राउ परेका छैनन्।
अर्कोतर्फ, सीआइबीले माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरिसकेको छ। साथै, विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारी र पानोरमा ट्रेकका पासाङ शेर्पा पनि पक्राउ परिसकेका छन्।
तर, गिरोहका कतिपय ठूला नाइकेहरू भने अझै फरार छन्। सीआइबी प्रमुख एआईजी मनोज केसी का अनुसार कँडेल जस्ता मुख्य व्यक्तिहरूको पक्राउ पर्खाइको विषय बनेको छ।
फेक रेस्क्यु प्रकरणमा संलग्न सबैको सम्पत्ति छानबिन गर्ने निर्णय भइसकेको छ। स्रोतका अनुसार कँडेलले चितवनमा मात्र एक अर्बभन्दा बढीको जग्गा खरीद गरी केही सम्पत्ति लुकाउन सफल भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij