Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

हायत होटल र प्राइड क्यासिनो लुटपाटमा संलग्न दुई गुण्डा नाइके पक्राउ, १४ करोड रुपैयाँ लुटिएको उजुरी

हायत होटल र प्राइड क्यासिनो लुटपाटमा संलग्न दुई गुण्डा नाइके पक्राउ, १४ करोड रुपैयाँ लुटिएको उजुरी

काठमाडौं : काठमाडौं जिल्ला प्रहरी परिसरले हायत होटल र प्राइड क्यासिनोमा भएको लुटपाट र आगजनीमा संलग्न दुई शक्तिशाली गुण्डा नाइकेलाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेकाहरू ३७ वर्षीय कुले (कुलध्वज लामा) र ३७ वर्षीय कोरियन (राकेश लामा) रहेको जनाएका छन्। उनीहरूलाई फागुन ३० गते शनिबार काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो।

कुले काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नं. ४ घर भइ हाल बौद्धमा बस्दै आएका थिए भने कोरियन काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ८ घर भइ बौद्धमा बस्दै आएका थिए। कुलेविरुद्ध सार्वजनिक अपराध र ज्यानमार्ने उद्योगसम्बन्धी ५ वटा मुद्दा दर्ता छन् भने कोरियनविरुद्ध सार्वजनिक अपराध, अपहरण, शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी ७ वटा मुद्दा दर्ता भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कुले नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् र कांग्रेस काभ्रेका दावा लामासहित अन्य नेताबाट राजनीतिक संरक्षण पाउँदै आएका थिए। जेनजी आन्दोलनका बेला उनीहरू बौद्धस्थित हायत होटल र प्राइड क्यासिनोमा लुटपाट र आगजनीमा संलग्न रहेको आरोप छ।

प्रहरीका अनुसार उक्त लुटपाटमा १४ करोड रुपैयाँ रकम चोरी भएको उजुरी परेको थियो। घटनापछि प्रहरीले ४२ वर्षीय दावा शेर्पा र २९ वर्षीय रने (रन्जित खड्गी)सहित १० जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ। उनीहरू डाँका, चोरी र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पनि संलग्न रहेका छन्।

कुले र कोरियनको समूहले बौद्ध क्षेत्रलाई आधार बनाएर मिटर ब्याजदेखि निर्माण व्यवसायीसम्मलाई धम्क्याएर रकम असुली गर्दै आएको प्रहरीको दाबी छ। पक्राउ प्रक्रिया सीसीटीभी फुटेज र अनुसन्धानको आधारमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट